• बैशाख ९ २०८२, मंगलवार

तालिबानद्धारा २ प्रान्तीय राजधानी कब्जा, मारिए एयर फोर्सका पाइलट

श्रावण २४ २०७८, आईतवार

काठमाडौं । अफगानिस्तानमा विद्रोही समूह तालिबानले दुई प्रान्तीय राजधानीमा आफ्नो नियन्त्रणमा लिएका छन् । द गार्डियन पत्रिकाका अनुसार शनिबार तालिबानले जजजान प्रान्तको राजधानी शेबेरघान कब्जामा लिएका हुन् ।

उक्त सहरमा तालिबानहरूले दश दिनदेखि आक्रमण गरिरहेका थिए । शनिबार दिउँसो १ बजेतिर सरकारी सुरक्षा फौजले सहर छोडेका थिए । उनीहरूले अहिले शेबेरघानको विमानस्थलमा बसेका छन् ।

विमानस्थलबाहेक सहरका अरू सबै ठाउँमा तालिबानको नियन्त्रण छ । गत शुक्रबार तालिबानले पहिलो पटक प्रान्तीय राजधानीमा कब्जा जमाएका थिए । इरानसँगको सीमा जोडिएको दक्षिणी निमरोज प्रान्तको राजधानी जारान्जलाई उनीहरूले नियन्त्रणमा लिएका थिए ।

तालिबान लडाकुहरू शनिबार साँझ नै उत्तरी प्रान्त कुन्दुजको राजधानी कुन्दुज सहरमा पसेका छन् । त्यहाँ अहिले तालिबान र सरकारी सुरक्षाकर्मीबीच भिडन्त भइरहेको छ । संयुक्त राज्य अमेरिकाले तालिबानलाई रोक्न जजजान प्रान्तमा बम खसाल्ने जहाज बी–५२ पठाएको छ ।

शनिबार साँझ साढे ६ बजेतिर शेबेरघानमा उक्त जहाजले तालिबानलाई लक्षित गरी बम खसालेको थियो । यसबाट तालिबानलाई ठूलो क्षति भएको दाबी गरिएको छ । यसैबीच अफगान एयर फोर्सका एकजना पाइलटको तालिबानले गरेको बिस्फोटमा परी मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार शनिबार दिउँसो अमेरिकी सेनाले तालिम दिएका एयर फोर्सका पाइलट हमिदुल्लाह आजिम काबुलमा गरिएको बम बिस्फोटमा मारिएका हुन् । प्रान्तीय राजधानीहरू कब्जा गरिरहेको तालिबानका लागि सबैभन्दा ठूलो डर एयर फोर्सको छ । त्यसमा पनि अमेरिकी र नाटो सैनिकबाट तालिम लिएकाहरूलाई उसले निशाना बनाउने गरेको छ ।