• मंसिर ११ २०८१, मंगलवार

पर्यटनको शान ठमेल सुनसान

श्रावण २१ २०७८, बिहीबार

काठमाडौं । बिहान हुन्छ, ठमेलको छेवैमा रहेको पकनाजोलमा कुखुराको भाले बास्छ, मानिस उठ्छन् । सामान्य गतिविधि दैनिक चलिरहन्छ । अलिअलि, थोरैथारै !

तर २४ घण्टा ननिदाउने ठमेल सूर्योदय हुँदा पनि मनखोलेर उठिसकेको हुँदैन । बिहान, दिउँसो र साँझ पनि सुनसान हुन्छ ठमेल । पर्यटन विकास परिषद्का अगुवा भन्छन्– ‘अब त ठमेल उठ्नु पर्छ ।’

ठमेल आन्तरिक पर्यटनका लागि होइन । यो अन्तर्राष्ट्रिय पर्यटकीय नगरी हो । आन्तरिक पर्यटनका लागि ठमेलमा न त ठाउँ छ, न त यसको भाउ छ । त्यसैले यहाँ विदेशी पर्यटक नै आउनु पर्छ ।

पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्मा पनि ‘विदेशबाट आउने पर्यटक क्वारेन्टाइनमा बस्न नपर्ने’ संहिता निर्माण गर्नुपर्ने कुरामा जोड दिन्छन् । उनको तर्क छ– ‘विदेशबाट आउने पर्यटकले कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक छैन ।’

तर राज्यले के कुरा बोल्छ, यो भने भिन्दै छ । शर्माको मनको लड्डु नेपालको घरेलु नियमले घ्युसित खान दिदैन । ठमेलमा अधिकांश घरधनी र व्यवसायीले कोरोनाविरुद्ध खोप लिए पनि त्यो क्षेत्रमा सबैले खोप लगाइसकेका छैनन् ।

ठमेल टुरिज्म डेभलपमेन्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर सबैलाई भ्याक्सिन लगाउने काम भएको छ । दुई वर्षदेखि ठप्प भएको ठमेलको व्यापार अब पनि माथि उठ्न नसके नेपालको पर्यटन व्यवसाय धराशायी हुन के बेर ? पर्यटन व्यवसायी सबैको आशंका छ ।

हिजोको ठमेलमा जमेको लाइफ स्टाइल आज १०० बाट घटेर १० प्रतिशतमा झर्न पुगेको छ । अब एक मात्र ध्याउन्न बाँकी छ– के गरी हुन्छ ठमेल उठाऔं ।