• बैशाख २७ २०८३, आईतवार

यूएन मिसनको प्रश्नपत्र एस्पीको घर्राबाट ‘आउट’ : साइबर र युएन शाखामा कार्यरतमाथि ‘डाउट’ !

श्रावण २० २०७८, बुधबार

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र एसपीको घर्राबाटै ‘आउट’ हुन गएको छ । प्रश्नपत्र ‘आउट’ गराउने भन्दै साइबर ब्यूरोमा कार्यरत एक जना र युएन शाखामा कार्यरत कार्यालय सहयोगीमाथि ‘डाउट’ गरिएको छ ।

शंकास्पद ती दुवैलाई पक्राउ गरेर नक्सालस्थित प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । आन्तरिक थुनामा रहेका उनीहरुमाथि सोधपूछ भैरहेको बताइएको छ ।

प्रवक्ता एस्एस्पी वसन्तबहादुर कुँवरका अनुसार युएन मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन भइरहेको छ । अहिले विशिष्ट श्रेणी, एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर, सदस्य रहेको उक्त छानबिन समितिको नेतृत्वमा आईजीपीको सचिवालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा रहेका छन् ।

प्रारम्भिक अनुमानमा यूएन शाखामा कार्यरत कार्यालय सहयोगीले प्रश्नपत्र निकालेको पाइएको छ । उक्त प्रश्नपत्र युएन शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर राणाले आफू बस्ने टेबुलको घरामा राखेर चाबी लगाएर हिंडेलगत्तै कार्यालय सहयोगीले अर्को चाबी प्रयोग गरी घर्रा खोलेर प्रश्नपत्र निकाली एक प्रहरी हवल्दारलाई दिएको अनुमान गरिएको छ ।

त्यो प्रश्नपत्र अहिले कहाँ पुग्यो, खोजी त्यसैको भैरहेको छ । तर युएन मिसनका लागि यही साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा सातवटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भैसकेको छ । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी भैसकेका छन् । प्रश्नपत्र ‘आउट’ भएको कुरा आएपछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्र तयार गरेर तोकिएको समयभन्दा डेढघण्टा ढिलो परीक्षा सम्पन्न गरिसकेको छ ।