काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने र अबको दिनमा भारतले यस प्रकारको हेपाह प्रवृति नदेखाउन माग गरे।
‘भारतीय सीमा सुरक्षाकर्मीले तुइन काटेकै कारणले जयसिंह धामी बेपत्ता भएका हुन्’, उनले भने, अमानवीय, क्रुरर कार्यको म घोर भत्र्सना गर्दछु । भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ । अबको दिनमा यस प्रकारको हेपाह प्रवृति नदेखाउन पनि माग गर्दछु ।’
सबै प्रकारका समस्याको समाधान कुटनीतिक रुपमा गरौं भन्ने मान्यतामा नेपाल रहेको भन्दै उनले नेपाल र नेपालीमाथिको भारतको हेपाहा प्रवृत्ति स्वीकार्य नभएको बताए।
‘भारतसँग हामी असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । सबै समस्याहरु कुटनीतिक ढंगबाट सकरात्मक संवाद गर्न चाहन्छौँ । तर, अतिक्रमण , हेपाहा व्यवहार सहने छैनौँ । जे गर्न पर्छ सबै गर्न नेपाली दृढ छन् भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उनले भने, ‘कोही भ्रममा नपरुन् आवश्यकता पर्दा सारा नेपालका पार्टीहरु, सामाजिक शक्तिहरु सम्पूर्ण नेपालीहरु राष्ट्रियताको पक्षमा एक ढिक्का हुन्छन् । त्यसैले हेप्ने, अतिक्रमण गर्ने, दुव्र्यबहार गर्ने नगरोस् भनेर अपील गर्न चाहन्छु ।’
उनले शुक्रबार दार्चुलामा महाकाली नदी तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेर नेपाली युवालाई महाकालीमा खसालीदिएको भन्दै घोर भत्र्सना गरे । उनले सरकारले यस विषयमा काम कारबाही अघि बढाउन ढिलो गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।