• मंसिर १२ २०८१, बुधबार

कोरोना महामारीको तेस्रो लहर सुरु भएको संकेत

श्रावण २० २०७८, बुधबार

काठमाडौं । एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमित बिरामीले खचाखच भरिएपछि यो तेस्रो लहर सुरु भएको संकेत हुनसक्ने टेकु अस्पतालका निर्देशकको आँकलन छ । उनी भन्छन्– ‘यो तेस्रो लहर सुरू भएको संकेत हो ।’

पछिल्लो एक सातादेखि नै टेकु अस्पतालमा यो चाप बढ्न थालेको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप लम्ब्याउँदै गर्दा सम्बन्धित निकायबाट नै तेस्रो लहर सुरु भएको सार्वजनिक संकेत भएपछि जनताका बीचमा पनि थप सतर्कता देखिन थालेको छ ।

टेकु अस्पतालमा संक्रमितका लागि बनाइएको वार्डमा छुट्याइएको ४० वटै बेडमा अहिले बिरामी टन्न भरिएका छन् । अरु वैकल्पिक बेडहरु पनि छैनन् र अर्को कोरोना कक्ष बनाउने स्थानाभाव रहेको छ ।

इमर्जेन्सी तथा गम्भीर बिरामीका लागि भनी बनाइएको २४ बेडको आईसीयु कक्षमा २३ जना जटिल अवस्थाका संक्रमित बिरामीको उपचार भइरहेको छ । यीमध्ये २० भन्दा बढी बिरामी भेन्टिलेटरको सहायतामा बाँचिरहेका छन् ।

उपत्यकाका अन्य अस्पतालका कोरोना उपचार कक्षहरु पनि भरिभराउ हुन थालेका छन् । कतिपय अस्पतालहरुले त अब कोरोना संक्रमित बिरामीको उपचारका लागि बेड नै नभएको सार्वजनिक घोषणा गरिरहेका छन् ।

सबै डाक्टरहरुको आँकलन ‘आकस्मिक बढ्दै गएको संक्रमित बिरामीको संख्याले तेस्रो लहरतिर प्रवेशको संकेत दिएको’ रहेको छ ।

थप संक्रमित बिरामी आउँदा तिनको उपचारका लागि अस्थायी टहरामा र बेड बनाएर उपचार थालिएको छ । यसमा शंकास्पद बिरामी रहने गरेका छन् ।

डाक्टर तथा विशेषज्ञका अनुसार हामीले कोरोना महामारीको पहिलो लहर आउँदा अपनाइनु पर्ने सतर्कतामा जेजस्ता गल्ती गरेका थियौं, तिनै गल्ति दोहरिएकाले दोस्रो लहरपछि पनि यो हालत बेहोर्नु परेको विज्ञहरुको दाबी छ ।

हाल निषेधाज्ञामा चलिरहेको देश कोरोना महामारी संक्रमणको तेस्रो लहर सुरु भएसँगैे लकडाउनमा जाने त होइन भन्ने आशंका आम बनेको छ ।