• बैशाख ९ २०८२, मंगलवार

प्रान्तीय राजधानीमा तालिबानी हमला जारी, सरकार भन्छ,‘तालिबानी हमला असफल बनायौं’

श्रावण १२ २०७८, मंगलवार

कान्दाहार । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।

सो आक्रमणको क्रममा २८ जना तालिबान मारिएका सरकारी स्रोतले मंगलबार जानकारी दिएको छ । सेनाका प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान सहरलाई विभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकु विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकु मारिए ।

यस कारबाहीको विषयमा तालिबान लडाकुले कुनै टिप्पणी गरेका छैनन् । तालिबान लडाकु समूहले तखार प्रान्तका १६ वटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान सहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धर्ना दिएका बताइएको छ । उनीहरुले केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा, प्रान्तीय राजधानी सहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ । सिन्ह्वा ।