• मंसिर १२ २०८१, बुधबार

दङ्गाली तोरी लोप भएपछि मिल व्यवसायी चिन्तित

असार २९ २०७८, मंगलवार

घोराही,  २९ असार ।
केही वर्ष अघि मात्रै हो, घोडा र ट्रकले दाङको तोरी लैजान्थे । यहाँबाट विराटनगर नेपालगञ्ज तर्फ शुद्ध दङ्गाली तोरी पठाइन्थ्यो । अहिले तिनै ठाउँबाट तोरी ल्याएर मिल चलाउने बाध्यता आएको जयकालिका तेल मिल घोराहीका सञ्चालक बुद्धिमणि पन्तको भनाई छ । उहाँका अनुसार त्यसमा पनि गोपीतोरी लगायत धेरै मिसिएको हुन्छ र सोचेजति तेल पनि आउँदैन ।

त्यस बखतका व्यवसायीहरुका अनुसार दिनमा चारसय लिटरसम्म तेल बिक्री हुन्थ्यो । फलस्वरुप एक पछि अर्को मिल स्थापना गर्ने हानथाप चलेको थियो । धेरै जनाले मिल व्यवसाय सम्हाले । तेल फिल्टर गरेर मात्रै बेचिन्थ्योे । अहिले मुस्किलले दशदेखि बिस लिटर तोरीको तेल बेच्न थालिएको छ । त्यतिका लागि मात्रै भनेर तेलमा फिल्टर प्रयोग गर्न छोडिएको कालिका तेल मिलका सञ्चालक रुद्रमणि पन्त बताउनुहुन्छ । उहाँका अनुसार तेल संङ्लिएपछि बेचिन्छ । धमिलो गेद्धर भाँडोको पिँधमा थिग्रिन्छ । पहिला प्रतिस्पर्धाका लागि खुलेका ठूला तेल मिलहरु अहिले सम्पर्क थलो मात्रै बनेका छन् । मात्रै पहिचान मेटिन नदिने उपाए मात्रै खोज्छन् ।

मिलहरु अस्तित्वका लागि मात्रै छन् । न तोरी खोजेको जस्तो पाइन्छ, न त उत्पादित तोरीको तेल समयमै बिक्री हुन्छ । त्यसैले धेरै तेल मिलहरु बन्द भइसकेका छन् । थोरै मात्र चालुछन् । तेल बिक्री घटेकै कारण यति बेला २०÷२५ लाख लगानी गरेर ट्रक लोडगरी तोरी ल्याउने पक्षमा घोराहीका मिलवालाहरु छैनन् । उनीहरुका अनुसार त्यो मात्रामा ल्याएको तेल लामो समयसम्म बेच्नुपर्छ । त्यसो गर्दा लगानी डुब्छ । त्यसरी घाटा खाएर व्यापार गर्न सकिँदैन । बजारकै होलसेल व्यवसायीबाट आठदश लम्बर तोरी खरीद गरी पेलेर तेल बेच्छन् । त्यसमा गुणस्तर भए वा नभएकोमा आफै विश्वस्त छैनन् । त्यसलाई दंङ्गाली तोरीको तेल भनेर दावी गर्न पनि मिल्दैन । ग्राहकले पनि दङ्गाली तोरीको तेल भनेर हानथाप गर्ने चलन छैन । व्यापार न्युन छ ।

‘कच्चा पदार्थ बढेकाले तेलको मूल्य बढ्दै गएको हो’ मिल व्यवसायी समितिका अध्यक्ष शशिधर वलीले भन्नुभयो, ‘तेलको मूल्य चर्को किन भयो ? भनेर उपभोक्ताबाट प्रश्न आउँछ ।’ उहाँका अनुसार बाहिरको तोरी ल्याउनु परेकाले यो बाध्यता सिर्जना भएको हो । प्रति लिटर तोरीको तेल तिन सय पचास रुपैयाँ सम्म बेचियो । त्यसैले सर्वसाधारणको पहुँच भन्दा बाहिरको बन्यो । अहिले तिन सय ३० कायम गरिएको छ । त्यसमा पनि सबैको पहुँच पुग्दैन । जीउमा घस्नका लागि लिटर आधा लिटर लगेपनि भुटुन खानका लागि तेल किन्ने अवस्था छैन । तोरी उत्पादनका लागि दाङ प्रख्यात मानिन्छ । दङ्गाली शुद्ध तोरीको तेल भनेर सबैतिर परिचित छ तर तोरी उत्पादन ह्रवात्तै घटेको छ । यति चाँडै उत्पादनको मात्रा घटेकोप्रति व्यवसायी आश्चर्यचकित छन् । त्यत्रो मात्रामा उत्पादन हुने तोरी कहाँ गायब भयो भनेर चिन्तित छन् ।

नैतिक संकट आउन नदिन मात्रै मिल चालु राखेको केही व्यवसायीको भनाई छ । कतिले स्थापना कालदेखिकै ड्राइभर (मिल चालक)ले काम गरिरहेकाले उनलाई हटाउन सकिएको छैन । उनको रोजगारीका लागि मात्रै पनि मिल चालु छ । एउटा उद्योग बन्द गर्ने र अर्को खोल्ने, त्यसबाट नाफा आएन भनेर अझ अर्को गर्नाले मार्केटमा नजर गिर्छ । विश्वसनियताका लागि आफुहरुले तेल मिलहरुलाई निरन्तरता दिएको व्यवसायी बताउँछन् । उनिहरुका अनुसार तोरी गायब भयो । अहिले पहिला पठाएकै ठाउँतिरबाट तोरी ल्याउनुपर्छ । तोरी उत्पादनको प्रख्यात ठाउँका मिलले आवश्यक मात्रामा कच्चा पदार्थ पाउन छोडे । उत्पादन घट्यो वा व्यवसाय छोडियो सरकारले अध्ययन गर्नुपर्ने व्यवसायी बताउँछन् । अथवा सबै खेत प्लटिङ गरिएकी भन्ने शंका पनि छ । ठूलठूला फाँटहरु बालुवा छर्केर आवासीय बनाइएको छ । त्यसले घटेको हुनसक्छ ।

व्यवसायीलाई कमाईसँगै सेवापनि गर्नुस् भनेर अनुरोध गर्नुपरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार उत्पादन क्षेत्र प्लटिङ गरिएर हो की तोरी खेति छोडियो अध्ययनको विषय बनाउनु पर्छ । तोरी उत्पादनमा स्थानीय सरकारले व्यवस्थित योजना बनाउनुपर्छ । व्यवसायीले पनि सरकारका मापदण्ड पुरा गर्नतर्फ लाग्नुपर्छ । अन्न भण्डार भनेर चिनिने क्षेत्रहरु जग्गा दलालबाट गिट्टी बालुवाले पुरिनु दुःखद छ ।

व्यवसाय कसरी गर्ने खोज गर्न नसकेकै कारण धेरै उद्योगीले धोका खाएको घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीको भनाई छ । लगातार व्यवसाय अनुगमन गर्नुभएका प्रमुख अधिकारीले एउटा पनि व्यवस्थित उद्योग नभेटाएको बताउनुहुन्छ । अनुमानका आधारमा, अनुभवका भरोसामा चलेका धेरै व्यवसाय छन् । अब उद्योगहरुले कच्चा पदार्थ उत्पादनका बारेमा पनि सोच्नुपर्छ । आफै कार्यक्रम ल्याउने वा सरकार मार्फत गराउनेतिर लाग्नुपर्छ । बजार र कच्चा पदार्थको प्रगति नगरे उद्योग डुब्छ ।

‘सबै व्यवसायीले घाटामा छु भन्छन्’ उहाँ थप्नुहुन्छ ‘फाइदा आयो कसैले भन्दैन के भा को हो ?’ उहाँका अनुसार तरकारीमा गयो सडेर बिग्रियो भन्छ । फेन्सीमा बिकेन भन्छ । किरानामा नाफा आउँदैन भन्छ । हार्डवयरले उधारो फस्यो भन्छ । लिखित हिसाब र कारण भने धेरैले दिन सक्दैनन् । उनीहरुले बिल काटेर बेच्दैनन् । घाटा नाफा हिसाब गर्दैनन् । त्यसैले थाहै छैन । आफ्नो क्षेत्रको विकासका लागि हरेक व्यवसायी आफै कस्सिनु पर्छ । दिर्घकालिन सोंचका साथ योजना बनाउनुपर्छ । त्यसै अनुसार मिल व्यवसायीले तोरी उत्पादनको योजना ल्याउनुपर्छ । सरकारलाई पनि दबाब सिर्जना गर्न अति आवश्यक भएको छ ।

उहाँले कागजी प्रकुया पुरा गर्न आग्रह गर्नुहुन्छ । प्रमुख अधिकारीका अनुसार पान बिल अनिवार्य र त्यसको ओसीमा पनि पसलको नाम उल्लेख हुनुपर्ने । तौल तथा लिटर नाप्ने भाँडाहरु उचित समयमा प्रमाणिकरण गरेको हुनुपर्ने । खरीद र विक्रि बिल हरु दुरुस्त राख्नुपर्ने । सरकारका सबै निकायमा दर्ता र नविकरण गरेका पश्माणपत्र देखिने ठाउँमा राख्नुपर्ने ।

मूल्य सूची ग्राहकको नजर पुग्ने ठाउँमा हुनुपर्ने, उपभोक्तालाई शद्धताको ज्ञारेन्टीपछि मात्रै तेल बिक्री गर्नुपर्ने व्यवसायीका न्युनतम शर्त हुन् । तर मिलमा पुग्दा न व्यवसायी भेटिन्छन्, न त दर्ताका कागपत्र नै राखिएका हुन्छन् । धुइँपत्ताल खोज्दा पनि परिवारले भेटाउँदैनन् । यसरी उद्योग व्यवसाय सञ्चालन गर्ने हो भने सोचेको सफलता पाउन कठिन छ । यसरी सरकारको तर्फबाट कागजी प्रकृया खोजिरहँदा उद्योगी भने बन्द गर्ने उपाए अभिव्यक्त गरिरहेका थिए । यति छिटै तोरीको उत्पादन घट्नुलाई उनीहरुले अकल्पनी भनेका छन् ।