• मंसिर १२ २०८१, बुधबार

मानव सभ्यता विकासमा कार्ल मार्क्सले दिएको योगदान

असार २४ २०७८, बिहीबार

दर्शनः

ऐतिहासिक भौतिकवादबारे

“संसारको व्याख्या त सबैले गरे, मुख्य कुरा त यसलाई बदल्नु पो हो त ।”
–कार्ल  मार्क्स
मार्क्सवादी दर्शन दुई भागमा विभाजित छ । जस्तोः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै मार्क्सवादी दर्शन हो र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यस आलेखमा ऐतिहासिक भौतिकवादका बारेमा लेख्ने प्रयत्न गरिएको छ ।

(१) ऐतिहासिक भौतिकवाद भनेको के हो ?

मानव समाजको विकासको प्रक्रिया अति लामो र ऐतिहासिक प्रक्रियाहरु पार गर्दै अगाडि बढिरहेको छ । मानव समाज विकासको ऐतिहासिक प्रक्रियाका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । दार्शनिक फाँटमा ऐतिहासिक भौतिकवादमा इतिहास तथा समाज विकासका उत्प्रेरक शक्तिहरुको अध्ययन गरिन्छ । साथै द्वन्द्वात्मक भौतिकवादका विशेषताहरुले मानव समाज र इतिहासमा आरोपित गर्नु नै ऐतिहासिक भौतिकवाद हो । ऐतिहासिक भौतिकवाद कार्ल  मार्क्सको मौलिक देन हो र  मार्क्सवाद–लेनिनवाद–माओवादको अभिन्न अंग हो ।

(२) ऐतिहासिक भौतिकवादको विकास कसरी भयो ?

ऐतिहासिक भौतिकवादको विकास तथा खोजका लागि वैचारिक विषय पहिलो प्राथमिक भएकोले वैचारिक पृष्ठभूमि प्रदान गर्ने काममा अठारौं शताब्दीका यान्त्रिक भौतिकवादीहरु, उन्नाइसौं शताब्दीका काल्पनिक समाजवादीहरु र विभिन्न राजनीतिक अर्थशास्त्रीहरुको महत्वपूर्ण भूमिका रहेको थियो । इतिहासकारहरु गिजो, फास्वाँ मिन्ने, आगस्तिन थिएर आदिले क्रान्तिका प्रेरक शक्तिका रुपमा समाजमा विद्यमान वर्ग संघर्षलाई प्रस्तुत गरेका थिए । यसलाई नै ऐतिहासिक भौतिकवादको उदयका लागि विशेष महत्व रहेको छ । तर ऐतिहासिक भौतिकवादको असली अनुसन्धानकर्ता (आविष्कारक) कार्ल माक्र्स नै हुनुहुन्छ ।

माक्र्सभन्दा पहिले एकातिर द्वन्द्ववाद थियो भने भौतिकवाद थियो । जर्मन दार्शनिकहरु– हेगेलले द्वन्द्ववादको विकास गरेका थिए भने फायरवाखले भौतिकवादको विकास गरेका थिए । हेगेल द्वन्द्ववादी थिए तर उनी चिन्तनका क्षेत्रमा आदर्शवादी थिए । फायरवाख भौतिकवादी थिए तर चिन्तनका क्षेत्रमा उनी अधिभूतवादी थिए । त्यसरी दुवै जना बेग्लाबेग्लै थिए । त्यसोहुँदा त्यतिखेर इतिहासलाई न त द्वन्द्वात्मक तरिकाले हेर्ने , अध्ययन गर्ने र बुझ्ने गरिन्थ्यो, न त भौतिकवादी सिद्धान्तका आधारमा व्याख्या नै गरिन्थ्यो ।

कार्ल माक्र्स नै त्यो पहिलो व्यक्ति हुनुहुन्थ्यो, जसले एकातिर हेगेलको द्वन्द्ववादका बोक्राहरुलाई फ्याँकेर त्यसको सारतत्वलाई ग्रहण गर्नु भएको थियो भने अर्कोतिर फायरवाखको भौतिकवादका आदर्शवादी छोक्राहरुलाई हटाएर त्यसको सारभूत तत्वहरुलाई ग्रहण गर्नु भई ती दुवैलाई एकै ठाउँमा मिलाउनु भयो ।

त्यसरी  मार्क्सले द्वन्द्वात्मक भौतिकवादका नियमहरुलाई मानव समाज र इतिहासमा आरोपित गर्नु भयो । मार्क्सले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको विकास (अनुसन्धान) गर्नु भयो ।
अतः द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा मानवजातिको इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने प्रक्रियामा ऐतिहासिक भौतिकवादको जन्म भएको हो । असलीमा ऐतिहासिक भौतिकवादको उदयका लागि भौतिक रुपमा पुँजीवादी समाजमा विकसित उत्पादन पध्दतिका साथै पुँजीपति वर्ग र सर्वहारा वर्ग बीचको संघर्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

(३) ऐतिहासिक भौतिकवादको अध्ययनको क्षेत्र

ऐतिहासिक भौतिकवादले कुन कुन क्षेत्रको अध्ययन गर्दछ भन्ने प्रश्न ज्यादै महत्वपूर्ण प्रश्न हो । माक्र्सद्वारा ऐतिहासिक भौतिकवादको खोजले इतिहासको अध्ययनमा विद्यमान आदर्शवाद र अधिभूतवादको अन्त्य गरिदिन्छ । साथै यसले सामाजिक जीवन र समाजशास्त्र सहित विभिन्न सामाजिक विज्ञानहरुलाई समेत दार्शनिक तथा सैद्धान्तिक आधार प्रदान गर्दछ ।

माक्र्स भन्दा पहिले आदर्शवादी दार्शनिकहरुले मात्रै नभएर भौतिकवादी दार्शनिकहरुले पनि समाज र सामाजिक घटनाहरुका विषयमा आफ्ना विचारहरुलाई व्यवहारको कसौटीमा जाँच्ने, बुझ्ने, अध्ययन गर्ने प्रयत्न गर्दैनथे न त त्यस प्रकारको आवश्यकता कै महसुस गर्दथे । अनि उनीहरूले विचारलाई कुन कुराले जन्म दिन्छन्, तिनको अध्ययन गर्ने, खोजी गर्ने गर्दैन्थे । त्यसो हुँदा उनीहरू खसाधारण व्यक्तिहरुको भूमिकामा अल्मलिन्थे र उनीहरूले इतिहासका निर्माता आम जनसमुदाय हुन् भन्ने कुरा बुझ्दैनथे । त्यसो भएर मानव समाजको विकासका बारेमा वैज्ञानिक रुपमा ऐतिहासिक भौतिकवादको निरुपण गर्नु नै ऐतिहासिक भौतिकवादको असली अध्ययनको क्षेत्र पर्दछ ।

ऐतिहासिक भौतिकवादको अध्ययन वर्गसंघर्षको अध्ययनसँग सम्बन्धित रहेको छ । यो अध्ययनले इतिहासका नियमहरुलाई ठिकसँग बुझ्नका निम्ति राम्रो मद्दत पुग्दछ । ऐतिहासिक भौतिकवाद र ऐतिहासिक आदर्शवादका बीच के अन्तर छ ? यस विषयमा कमरेड माओ अगाडि लेख्नु हुन्छ,–‘वर्गहरुको बीचमा संघर्ष हुन्छ, केही वर्गहरु विजयी हुन्छन् र अरु केही वर्गहरु नष्ट हुन्छन् । इतिहास यस्तै छ, हजारौं वर्षको सभ्यताको इतिहास यस्तै छ । यस दृष्टिकोण अनुसार इतिहासको व्याख्या गर्नु ऐतिहासिक भौतिकवाद हो, यस दृष्टिकोणको विरुद्ध चल्नु ऐतिहासिक आदर्शवाद हो ।’ (माओ त्सेतुङका चुनिएका रचनाहरु, भाग–४, पृष्ठ ४६९, प्रगति प्रकाशन नेपाल २०६० ।) कमरेड माओका यी भनाइहरुले माथिका विषयहरुमा अध्ययन गर्न राम्रो मद्दत पुग्दछ ।

(४) ऐतिहासिक भौतिकवादको अनुसन्धानले ल्यायो इतिहासको क्षेत्रमा क्रान्ति :

माक्र्सद्वारा ऐतिहासिक भौतिकवादको खोज र अनुसन्धानले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्याइदियो । किनभने मार्क्स पूर्वका विचारकहरु, दार्शनिकहरुले मानिसहरुका अनेकौं लक्ष्य, इच्छा, विचार, प्रेरणाहरु पुरा गर्ने, तिनलाई प्रेरित गर्ने शक्ति के हो ? भन्ने प्रश्नको जवाफ दिन सकिरहेका थिएनन् ।

त्यो बेला इतिहासको क्षेत्रमा यान्त्रिक भौतिकवाद, आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । आदर्शवादीहरुका साथै भौतिकवादीहरु पनि इतिहासको प्रश्नमा आदर्शवादी रहेका थिए । यतिसम्म कि उनीहरू प्रकृति दर्शनको क्षेत्रमा जस्तै इतिहास दर्शनको क्षेत्रमा पनि वास्तविक अन्त: सम्बन्धलाई स्थापित गर्नुको सट्टा काल्पनिक र रहस्यमूलक अन्तः सम्बन्धलाई स्थापित गरिँदै आउने काम भएको थियोे । साथ इतिहास दर्शनको क्षेत्रमा हेगेल र फायरवाख समेत दुबै आदर्शवादमा फसेका थिए ।

यस विषयमा फ्रेडरिक एंगेल्स अगाडि लेख्नु हुन्छ,-‘पुरानो भौतिकवाद इतिहासको क्षेत्रमा स्वयम् आफूप्रति आस्थावान रहेन, किनकि त्यसले त्यसक्षेत्रमा कार्यशील आदर्शमूलक प्रेरक शक्तिहरुलाई घटनाहरुको आदिकार मानेर बस्यो । यसको उल्टो इतिहासको दर्शन खासगरी हेगेलद्वारा प्रस्तुत इतिहासको दर्शन के मान्दछ भने इतिहासको मञ्चमा क्रियाशील मानिसहरुका प्रत्यक्ष र वास्तविक चालक प्रेरक शक्तिहरु ऐतिहासिक घटनाहरुका आदिकारण कदापि होइनन् । तर पनि ती शक्तिहरुका पछाडि अरु प्रेरक शक्तिहरु छन् जसको खोज हुनुपर्छ । तर उनले ती शक्तिहरुको खोज इतिहासभित्र गर्दैनन् । तर पनि तिनलाई बाहिरबाट, दार्शनिक विचारधाराबाट इतिहासभित्र ल्याउने कोसिस गर्दछन् ।’-मार्क्स-एंगेल्स संकलित रचनाएँ, खण्ड–३ , भाग–२, पृष्ठ २५१, प्रगति प्रकाशन मास्को २९७८ । एंगेल्सले यहाँ इतिहासको क्षेत्रमा विद्यमान यान्त्रिक भौतिकवाद र आदर्शवादको विरोध गर्नुभएको छ ।
इतिहासको क्षेत्रमा आदर्शवादी हुँदाहुँदै पनि हेगेलले प्रेरक शक्तिहरुका पछाडि अरु प्रेरक शक्तिहरु रहेको र तिनको खोज गर्नुपर्ने कुरा बताएका थिए ।

ठिक यसै विन्दुमा आएर कार्ल माक्र्सले त्यस प्रकारका प्रेरक शक्तिहरुको प्रेरकको रुपमा मानिसका उत्पादनमूलक गतिविधिहरुलाई बताउन पुग्नु भएको थियोे । त्यतिबेला यद्यपि यो अन्तः सम्बन्ध अर्थात् प्रेरक शक्ति पत्ता लगाउने काम अवश्यै त थियो तर पुँजीवादी क्रान्तियता समाजमा पहिले भू–स्वामी र पुँजीपति वर्ग तथा पछि पुँजीपतिवर्ग र सर्वहारावर्गबीचका जुन टक्करहरु उद्घाटित हुँदै गए त्यसबाट के कुरा स्पष्ट भयो भने मानिसका ती इच्छा, विचार र आकांक्षालाई प्रेरित गर्ने प्रेरक शक्ति ती वर्गसंघर्षका भौतिक तथा आर्थिक जीवननिर्वाहका आवश्यकताहरुसित उत्पादक शक्ति र उत्पादन सम्बन्धसित अथवा वर्ग संघर्षसित अभिन्न रुपमा गाँसिएका छन् ।

जब यी कुराहरु स्पष्टहुँदै गए त्यस स्थितिमा इतिहासको क्षेत्रमा काल्पनिक या रहस्यमय अन्तः सम्बन्ध पनि स्वतः ध्वस्त हुन पुग्यो र त्यो ठाउँमा वास्तविक अन्तः सम्बन्ध कायम हुन पुग्यो । यसको निरुपण कार्ल माक्र्सले गरे पछि इतिहासको क्षेत्रमा ठूलो क्रान्ति नै ल्याइदियो । हेगेलको आदर्शवादलाई उल्ट्याउदै माक्र्सले मानिसका गतिविधिहरु, वस्तुतः आफ्ना आवश्यकताहरु पुरा गर्न गरिएका आर्थिक गतिविधिहरु नै हुन् र यिनलाई उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग हो भन्ने कुराको निरुपण गर्नु भए पछि इतिहासको क्षेत्रमा ठूलो क्रान्ति पैदा हुन पुग्यो । यी विचारहरुका बारेमा माक्र्सले आफ्नो प्रसिद्ध कृति ‘जर्मन विचारधारा’मा यसरी स्पष्टरुपमा लेख्नुभएको छ,’ जीवन चेतनाद्वारा निर्धारित हुँदैन, अपितु चेतना जीवनद्वारा निर्धारित हुन्छ ।’– मार्क्स–एंगेल्स संकलित रचनाएँ, खण्ड–१, भाग–१, पृष्ठ २७, प्रगति प्रकाशन मास्को १९७८ ।

यहाँनीर एउटा के कुरामा स्पष्ट हुन जरुरी छ भने जसरी प्रकृति विज्ञानका क्षेत्रमा भएका तमाम खोजहरुले प्रकृति दर्शनको अन्त्य भयो, ठिक त्यसरी नै इतिहास विज्ञानको क्षेत्रमा स्पष्ट बन्दै गएको ज्ञानले इतिहास दर्शनलाई पनि अन्त्य गरिदयो र त्यो ठाउँ ऐतिहासिक भौतिकवादले लिन पुग्यो । यसको श्रेय माक्र्सलाई जान्छ ।

(५) ऐतिहासिक भौतिकवादको सिद्धान्त :

ऐतिहासिक भौतिकवादको सिद्धान्तको कुरा गरिरहँदा सामाजिक सत्ता र सामाजिक चेतनाबीच विद्यमान सम्बन्धको अध्ययन गर्ने दर्शन शास्त्र मौलिक प्रश्नसँग सम्बन्धित रहेको छ । इतिहास सम्बन्धि दर्शन शास्त्रकोयस प्रकारको मौलिक प्रश्नमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले सामाजिक सत्तालाई प्राथमिक तथा सामाजिक चिन्तनलाई द्वितीयक मान्दै समाजिक सत्तालाई सामाजिक चिन्तन भन्दा स्वतन्त्र स्वीकार गर्दै तथा सामाजिक सत्तालाई ज्ञेय अर्थात् बोधगम्य बताउँदै त्यसलाई बदल्न सकिने र मुख्यतः बदल्नु पर्ने कुराको पक्षपोषण गर्दछ ।

(६) ऐतिहासिक भौतिकवादको पध्दति :

यहाँ स्पष्ट हुन जरुरी हुन्छ कि ऐतिहासिक भौतिकवादको पद्धति भौतिकवादी द्वन्द्ववादको पद्धतिमा आधारित छ । यो पद्धति सबैखाले अधिभूतवादका विरुद्ध खडा छ । वास्तविकता के हो भने भौतिकवादी द्वन्द्ववादले इतिहास र सामाजिक जीवनलाई स्थिर, बनिबनाउ र परिवर्तनहीन होइन, गति, अन्तर्विरोध, द्वन्द्व र परिवर्तनको प्रक्रियामा हेर्दछ ।
भौतिकवादी द्वन्द्ववादका अनुसार हरेक समाज व्यवस्था स्थिरताको अवस्थामा होइन, गति, परिवर्तन र रुपान्तरणको अवस्थामा हुन्छ । भौतिकवादी द्वन्द्ववादले समाज विकासको सिंगो प्रक्रियालाई विपरितहरुको एकत्वको अर्थमा अर्थात् परस्पर विपरीत तत्व, शक्ति तथा वर्गहरुको एकता–संघर्ष र रुपान्तरण, पुरानो एकताको अन्त्य र नयाँ आधारमा नयाँ एकताका अर्थमा ग्रहण गर्दछ ।
साथै ऐतिहासिक भौतिकवादको पद्धति तमाम प्रकारका अधिभूतवाद, यान्त्रिक भौतिकवाद, भँडुवा विकासवाद र सारसंग्रहवादका विरुद्ध भौतिकवादी द्वन्द्ववादमा आधारित रहेको छ । यसकै आधारमा यसको समग्र विषयको बारेमा बुझ्न र अध्ययन गर्न जरुरी हुन्छ ।

(७) ऐतिहासिक भौतिकवादको विषयवस्तु यहाँ संक्षिप्तमा ऐतिहासिक भौतिकवादको विषयवस्तुका सन्दर्भमा चर्चा गर्ने कोसिस गरिएको छ:

ऐतिहासिक भौतिकवादको विषयवस्तु सामाजिक सत्ता र सामाजिक चेतनाबीचको सम्बन्धमा आधारित छ । यसले समाजको विकासका गतिका सामान्य नियमहरुको अध्ययन गर्दछ । यो अध्ययन उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरीसंरचना तथा उत्पीडक वर्ग र उतपीडित वर्गका बीचको संघर्ष अर्थात् अन्तर्विरोधमा आधारित रहेको छ ।
यहाँनेर यो स्पष्ट हुन जरुरी छ कि यसमा इतिहास निर्माणमा जनसमुदायको भूमिका, वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व , राज्यित्ताको विलुप्ति जस्ता विषयहरुको अध्ययन हुन्छ ।
आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा समाजमा सर्वहारा वर्गको ऐतिहासिक एवं क्रान्तिकारी दायित्व वैज्ञानिक समाजवाद र साम्यवाद यस अध्ययनका सारभूत विषय हुन् ।

(८) ऐतिहासिक भौतिकवादको मुख्य कडी वर्गसंघर्षको सिद्धान्त :

ऐतिहासिक भौतिकवादको आधारभूत सैद्धान्तिक मान्यताका चर्चा गरिरहँदा के कुरा उल्लेख गर्न आवश्यक हुन्छ भने वर्ग र वर्ग संघर्षको खोजको श्रेय पुँजीवादी विचारकहरुलाई नै छ । तर वर्गसंघर्षको दिशालाई सुस्पष्ट रुपमा प्रस्तुत गर्दै वर्ग संघर्षको सिद्धान्तलाई वैज्ञानिक ढंगले व्यवस्थित तुल्याउने काममा माक्र्सको महत्वपूर्ण भूमिका रहेको छ । वर्ग संघर्षको दिशा र सिद्धान्तलाई नयाँ उचाइ प्रदान गर्ने सवालमा माक्र्स

अगाडि भन्नुहुन्छ,–‘जहाँसम्म मेरो प्रश्न हो, आधुनिक समाजमा वर्गहरुको अस्तित्वको खोजको श्रेयको खोजको अधिकारी म होइन । न त तिनका बीच संघर्षको खोज गर्ने श्रेय मलाई मिल्नु पर्दछ । म भन्दा धेरै पहिले नै बुर्जुवा इतिहासकारहरुले वर्गहरुको त्यो संघर्षको ऐतिहासिक विकासको र बुर्जुवा अर्थशास्त्रीहरुले वर्गहरुको आर्थिक बनावटहरुको वर्णन गरिसकेका थिए । मैले जुन नयाँ कुरा ल्याएँ, त्यो के सिद्ध गर्नु थियो भने वर्गहरुको अस्तित्व उत्पादनको विकासको खास ऐतिहासिक प्रक्रियाहरुका साथ जोडिएको छ र वर्गसंघर्ष स्वाभाविक रुपमा सर्वहारा अधिनायकत्वको दिशामा परिलक्षित हुन्छ साथै यो अधिनायकत्व स्वएं सबै वर्गहरुको उन्मूलन तथा वर्गहीन समाज तर्फ संक्रमण मात्र हो ।’–माक्र्स–एंगेल्स चुनिएका रचनाहरु, भाग १, पृष्ठ २६८, विविध पुस्तक भण्डार, अद्वैत मार्ग, काठमाडौं, नेपाल ।

मार्क्सकै भनाइबाट पनि के स्पष्ट हुन्छ भने वास्तवमा वर्ग र वर्गसंघर्षको खोजकर्ता माक्र्स नभई पुँजीवादी चिन्तकहरु नै थिए ।  मार्क्सले त वर्ग र वर्गसंघर्षलाई उत्पादनको ऐतिहासिक विकासप्रक्रियाको कडीसँग जोड्ने, त्यसलाई सिद्धान्तको स्तरमा उठाउने र त्यसको गतिलाई सर्वहारा अधिनायकत्व तथा वर्गविहीन समाजको स्थापनातर्फ परिलक्षित गर्ने र अन्ततः वर्ग उन्मूलनका साथ साम्यवादको स्थापना गर्ने कुरामा रहेको थियो । वास्तवमा  मार्क्सको यो खोज ऐतिहासिक भौतिकवादको क्षेत्रमा अत्यन्तै महान् उपलब्धि हो ।

यी माथिका तथ्यहरुबाट हामीलाई स्पष्ट भयो कि माक्र्सवादी मान्यता अनुसार समाजको विकास र परिवर्तनको मुख्य कारण समाजमा विद्यमान अन्तर्विरोध हो । यसै प्रसंगमा कमरेड माओत्सेतुङ भन्नु हुन्छ, ‘समाजमा हुने परिवर्तनहरुको मुख्य कारण समाजमा विद्यमान आन्तरिक अन्तर्विरोधहरु अर्थात् उत्पादन शक्ति र उत्पादन सम्बन्धहरुबीचको अन्तर्विरोध, वर्गहरुबीचको अन्तर्विरोध र पुराना तथा नयाँबीचको अन्तर्विरोधहरुको विकास हो, उपयुक्त अन्तर्विरोधहरुको विकासले नै समाजलाई अघि बढाउँछ र पुरानो समाजको ठाउँमा नयाँ समाजको स्थापनाको लागि प्रेरणा दिन्छ ।’–माओत्सेतुङ चुनिएका रचनाहरु, भाग १, पृष्ठ २५०, विविध पुस्तक भण्डार, अद्वैतमार्ग, काठमाडौं, नेपाल, २०६३ ।

कम्युनिस्ट क्रान्तिकारीहरुले ऐतिहासिक भौतिकवादको अध्ययनको प्रस्थानविन्दु सामाजिक भौतिक जीवनको उत्पादन पध्दतिलाई बनाउन जरुरी हुन्छ ।

(९) ऐतिहासिक भौतिकवादको केन्द्रीय विषय :

ऐतिहासिक भौतिकवादको केन्द्रीय विषय वर्ग संघर्षको अध्ययन हो । इतिहासको विकासको खास अवस्थामा विकसित सामाजिक–आर्थिक संरचना र वर्गसंघर्षको बीचबाट वैज्ञानिक समाजवादको जन्म हुन्छ । र, ऐतिहासिक भौतिकवादले वैज्ञानिक समाजवादको अवश्यम्भाविताको पुष्टि गर्दछ ।

आज नव  मार्क्सवादीहरु, उत्तर  मार्क्सवादीहरु, उत्तर आधुनिकतावादीहरु इतिहासको अन्त्यको घोषणा गरिरहेका छन् र इतिहासको निर्माता विशाल जनसमुदाय होइन, प्रविधि हो भन्न पुगेका छन् । यस परिस्थितिमा इतिहासको निर्माणमा प्रविधि होइन, मानवजाति अर्थात् जनसमुदाय कै भूमिका प्रधान तथा निर्णायक हुन्छ भन्ने कुरामा विश्व सर्वहारा वर्ग सचेत छ भन्ने कुरा भुल्न हुँदैन र मालेमावादी क्रान्तिकारी कम्युनिस्टहरू यो विषयलाई कार्यान्वयन गर्न कठिबद्ध भएर अगाडि बढ्न जरुरी छ । यो पनि ऐतिहासिक भौतिकवादको केन्द्रीय विषय अन्तर्गत पर्न आउँछ ।

(लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।