• मंसिर १२ २०८१, बुधबार

वाईसीएलले देशभर प्रम र राष्ट्रपतिको पुत्ला जलायो

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौं । असंवैधानिक र प्रतिगामी तरिकाले संसद भंग गर्ने कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएलले देशैभर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

उपत्यकामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायत देशैभरी पुत्ला दहन गर्ने कार्य भएको वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतिको नालायकी र कायरपना भएको सापकोटाले बताए ।

देशी विदेशी शक्तिको इसारामा देशको बेहाल बनाएर संविधान र जनताको हुर्मत लिने काम प्रधानमन्त्री र राष्ट्रपतिबाट हुनु देशको लागि दुर्भाग्य भएको उनको भनाइ छ । सापकोटाले देशैभरका क्रान्तिकारी, देशभक्त र देशलाई माया गर्ने युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रवृत्ति र व्यक्तिको विरोध गर्न अपिल समेत गरेका छन् ।