• मंसिर ११ २०८१, मंगलवार

संसद विघटन विरुद्ध विपक्षी गठबन्धन सोमबार सर्वोच्च जाने

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौँ /

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको संसद विघटनको विरुद्ध विपक्षी गठबन्धनले सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। आज (आइतबार) समय अपुग भएकोले सोमबार बिहान १० देखि ११ बजेको समयमा सर्वोच्च अदालत जाने नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बताए। गत शुक्रबार संसद विघटन गरेपछि विपक्षी दलहरुले १४९ जना सांसदहरुको हस्ताक्षर सहित सर्वोच्चमा रिट दायर गर्न लागेका हुन्।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको लेखकले बताए । रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की,  गोविन्द बन्दी,  मुक्ति प्रधान संलग्न भएका थिए ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए ।