• मंसिर ११ २०८१, मंगलवार

राष्ट्रपतिको स्वविवेकीय अधिकार विरुद्ध कतै उजुरी लाग्दैन:प्रम ओली

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौँ/

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कहिँ उजुरी नलाग्ने बताएका छन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने संबिधानको धारा ७६ (५) राष्ट्रपतिको स्वविवेकिय अधिकार हो भनेर त्यसका विरुद्ध कतै उजुरी र प्रश्न गर्न नपाइने बताएका हुन् ।

‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसका विरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आव्हान गरेको समसीमामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले १४९ सांसदको हस्ताक्षर सहित दाबि पेश गरेका थिए। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपा (एमाले)का १२१ जनता समाजवादी पार्टीका ३२ जना गरेर १५३ जना सांसदको समर्थन आफूसँग रहेको भनेर दाबि पेश गरेका थिए।

दुईजनाको दाबि पेश हुँदा राष्ट्रपतिले दुबैको प्रधानमन्त्रीको दाबीको आधार नपुगेको भन्दै संविधानको सो धारा अनुसार प्रधानमन्त्री नियुक्ति गर्न अस्विकार गरेकी थिईन।