काठमाडौँ /
सरकारले गरेको संसद विघटन र जनस्वास्थ्यमाथि गरेको खेलवाडको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनहरुले आव्हान गरेका छन्। नेपाली काँग्रेस,माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा निकटका विद्यार्थी नेताहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेर यसरी प्रतिरोध गर्न आव्हान गरेका हुन्।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रंजित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुप नारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष बिमल पोखरेलले संयुक्त रुपमा आइतबार निकालेको वक्तव्यमा भनिएको छ, ‘कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो।’
सरकारको यस कदमलाई आ-आफ्नो ठाउबाट प्रतिरोध गर्न विद्यार्थी तथा आम जनतालाई अनुरोध गरेका छन्।
हेरौं पाँच विद्यार्थीले निकालेको वक्तव्य ⇓