• मंसिर १४ २०८१, शुक्रबार

प्रतिगमन विरुद्ध नेवि संघले निकालेको जुलुसमा प्रहरी हस्तक्षेप

जेष्ठ ८ २०७८, शनिबार

पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो ।

मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो । जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा खटिएको प्रहरीले हस्तक्षेप गरेको नेविसंघका पूर्वकेन्द्रीय सदस्य भानु ढकालले जनाकारी दिए ।

उनले विद्यार्थीको आन्दोलन पोखराबाट शुरु भएको बताउँदै अब देशैभर आन्दोलन चर्काउने चेतावनी दिए । उनले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र मूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताउदै त्यस कदमका विरुद्ध नेविसंघ चुप लागेर नबस्ने बताए ।

यसैबीच, प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ । उसले शान्तिपूर्ण रुपमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेर प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रहार गरेको आरोप लगाएको छ ।