• मंसिर १४ २०८१, शुक्रबार

ओलीले प्रधानमन्त्री पदमा फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ : विश्वप्रकाश शर्मा

जेष्ठ ७ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वासको मतबाट भागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत छ भनेर फेरि प्रधानमन्त्रीमा दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीट गरेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ । लाज स्वयं लजाएको छ ।’

शर्माले राष्ट्रपतिजस्तो संस्थालाई अझै कति ओरालो लगाइरहेको भनेर प्रश्न गर्दै यसबाट राष्ट्रपति पदको गरिमा पनि पतनतर्फ उन्मुख भएको उल्लेख गरेका छन् । ‘राष्ट्रपति महोदय, सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओरालो अझै कति लगाउनु हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट ओलीले दाबी प्रस्तुत गरेका छन् ।

देउवाले बहुमतको दाबी गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष बुझाएका छन् भने ओलीले १५३ सांसदको समर्थन रहेको दाबी गरेका छन् ।