काठमाडौँ /
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदबाट विस्वासको मत प्राप्त गर्न नसक्ने भएकोले संबिधान बमोजिम सरकार बन्नका लागि मार्ग प्रसस्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको बताएका छन्। अझैं पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने भन्दै आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार, सहमतिको सरकार बनाउन सहयोग गर्न उनले दलहरुलाई आव्हान गरे।
आफूलाई सरकार चलाउदा अभिमन्युलाई चक्रब्युहमा फसाए झैं आफ्नै दलभित्रैबाट असफल बनाउने प्रयास गरिएको बताउदै वैकल्पिक सरकार बनेमा आफ्नो रचनात्मक सहयोग हुने उनले बताए। ‘महामारीको बेला एकजुट भएर लडौं, तपाईहरु सक्ने भए वैकल्पिक सरकार बनाउनुहोस होइन भने मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, सबैले सहयोग गर्नुस।’ प्रधानमन्त्री ओलीले आफैले आयोजित पत्रकार सम्मेलनमा भने।
राजनीतिलाई तनावतिर नलिन आग्रह गर्दै यो भन्दा अर्को कुनै उपयुक्त विकल्प भए कसैले अगाडी सार्न पनि उनले अनुरोध गरे। राष्ट्रपति माथिको आक्रोस गणतन्त्रको लागि राम्रो नभएको भन्दै संबैधानिक राष्ट्रपतिमाथिको आक्रोस गणतन्त्र विरोधी भएको समेत उनले बताए। गणतन्त्रमा राष्ट्रपतिको मर्यादा घटाउन नहुने, अपमान गर्न नहुने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गरे।
वैकल्पिक सरकार बनाउन पनि नसक्ने र आफ्नो नेतृत्वमा पनि सरकारमा नआउने तर आफूलाई हटाउने दिन मात्रै गन्दै बस्ने हो भने संसद विघटन हुने बाटोमा जाने उनले बताए। अब संसद विघटन भयोभने आफ्ना कारणले नहुने उनले बताए।