काठमाडौँ /
नेपाली काँग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल काँग्रेस सभापति शेर बहादुर देउवा निवास बुधानिलकण्ठ पुगेका छन्। जनता समाजवादी पार्टीका नेताहरु पनि आ-आफ्नो समूहको बैठक सकेर बुधानिलकण्ठ पुग्ने बताइएको छ। बिहीबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार २१ घण्टाभित्रै सरकार गठन गर्न भनेर आव्हान गरेकी थिइन्।
राष्ट्रपतिले तोकिदिएको सो समय आज बुलुकी ५ बजेसम्म मात्रै रहेको छ। नेपाली काँग्रेसले राष्ट्रपतिको भूमिकाप्रति आशंका गरेको छ। संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई/राजीनामा नदिई नयाँ उपधाराअनुसार राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई आह्वान गरेपछि संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले कदम चालेको आरोप कांग्रेसको छ।
आज देउवा निवासमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि सबै विकल्प खुला राखेर अरू दलसँग छलफल गर्ने निर्णय भएको थियो भने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेबारे छलफल भएको थियो। राष्ट्रपतिले संविधानविपरीत काम गरेकोले यसबारे के गर्ने भन्ने दलहरूसँग छलफल गरी निर्णयमा पुगिने काँग्रेस नेताहरुले बताएका छन्।