काठमाडौँ /
कोरोना भाइरस महामारीको रोकथाम,नियन्त्रण र उपचारको लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने माओवादी केन्द्रले बताएको छ। पार्टी कार्यालय पेरिषडाँडामा बसेको स्थाई समिति बैठकले सीसीएमसी खारेजीको माग सहित अरु माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र निर्णय गरेको हो।
बैठकका निर्णयबारे बोल्दै स्थाई समिति सदस्य वर्षमान पुनले भने, ‘सरकारले कोभिडकाबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय भएको छ।’ सीसीएमसी अनावश्यक संरचना भएकोले त्यसलाई खारेज गर्नुपर्ने पार्टीको धारणा भएको पनि नेता पुनले बताए।
त्यस्तै कोभिड नियन्त्रणका लागि सीसीएमसी हटाएर प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय,सर्वदलीय संयन्त्र बनाउन पनि माओवादी केन्द्रले माग गर्ने जनाएको छ।
माओवादी केन्द्रले शुक्रबार एक पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गर्ने पनि जानकारी दिएको छ।