• बैशाख २० २०८३, आईतवार

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाही होला ?

जेष्ठ ५ २०७८, बुधबार

काठमाडौं । जेठ ६ गते अर्थात् भोलि (बिहीबार) हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । बागमती प्रदेशमा बैशाख २९ गतेदेखि उपनिर्वाचन सम्पन्न नहुँदासम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा केही व्यक्तिहरूले आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । यो समयावधिमा केही व्यक्तिहरूले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । तथापि उक्त आयोगले कसले उल्लंघन गरेको उक्त कुरा भने प्रष्ट पारेको छैन । बुधबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई मत दिन आग्रह गर्दै सार्वजनिक रूपमै अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीले अपिल गरे लगत्तै आयोगले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, —‘एकातर्फ आयोगले निर्वाचन आचारसंहित कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना गर्ने र अर्कोतर्फ आफै आचारसंहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन ।’ त्यस्तै गत शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका गृहमन्त्री रामबहादुर थापा बादलले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

आचारसंहिता लागु गरिएको समयमा राष्ट्रिय सभाका उम्मेदवार बादलले आचारसंहिता उल्लंघन गरेका हुन् । निर्वाचन आयोगले आचासंहिता लागु गरिसकेको समयमा कुनै पनि उम्मेदवारले नियुक्ति वा शपथ ग्रहण गर्नु सरासर आचारसंहिता विपरीत हुने बताएको छ । निर्वाचनका जानकार वा विज्ञहरूका अनुसार गृहमन्त्री बादलको शपथ ग्रहण आचारसंहिता विपरीत हुने भए पनि कानुनमा यस्तो भनिएको छ ।

आचारसंहितामा के छ ? निर्वाचन आचारसंहिता २०७२ मा नेपाल सरकार र नेपाल सरकारका मन्त्री लगायत सबैलाई आचारसंहिता लागू हुने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसका साथै आयोगले मौन अवधि लागु गरेको समयावधिमा कोही कसैले प्रचार–प्रसार गर्न पाइँदैन । तथापि आचासंहितामा यस्तो कुरा उल्लेख गरिए पनि प्रधानमन्त्री ओली स्वयंले आफ्ना नेता बादललाई राष्ट्रिय सभामा भोट गर्न अपिल गरेका छन् ।

त्यस्तै उपनिर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट बादल राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन् भने उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । निर्वाचन आयोग के भन्छ ? निर्वाचन आयोग भन्छ, –‘आजसम्म कोही कसैले उजुरी गरेका छैनन् । यदि उजुरी गरेको खण्डमा छानबिनका लागि कारबाही हुन्छ ।’

निर्वाचन वा उपनिर्वाचनका लागि लागु गरिएको आचारसंहिता वा मौन अवधि उल्लंघन गर्ने जो कोहीमाथि कारबाही हुन्छ । उम्मेदवार बनेका जोकोही व्यक्ति मन्त्री बन्न पाइँदैन भनेर स्पष्ट रूपमा लेखिएको त छैन । तर, आचारसंहिता भनेको सामान्यतया सबैमा लागू हुन्छ । यद्यपि कोही कसैले प्रधानमन्त्री ओली वा गृहमन्त्री बादलको विरुद्धमा उजुरी गर्यो भने छानबिन हुन्छ र दोषी देखिए कारबाही पनि हुन्छ ।

पूर्व आयुक्त के भन्छन् ? पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, –‘आचारसंहिता भनेको निर्वाचन वा उपनिर्वाचन दुवै प्रक्रियामा लागू हुन्छ । यसका लागि आचारसंहिता लागू हुन्छ या हुँदैन भन्ने कुरा कानुनमा प्रष्ट लेखिएको छ । यसबारेमा थप जान्नका लागि निर्वाचन आयोगसँग नै सोध्दा उचित हुन्छ ।’

त्यस्तै अर्का एक पूर्वआयुक्तका अनुसार, –‘संविधान नै गुमराहमा पार्नेहरूले निर्वाचन आचारसंहिता मान्ने कुरा त हुँदैन । तर, यसका लागि उहाँहरूले निर्वाचन आचारसंहिता सम्झेर वा बुझेर पालना गर्नु नै राम्रो हुन्छ ।’