नारायणगढ । नवलपरासीको दाउन्ने सडक खण्डमा भएको बस दुर्घटना ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । आज बिहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्ने पूर्वपिश्चम राजमार्ग सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जनामध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुमपूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।
दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्धार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।