• मंसिर ११ २०८१, मंगलवार

सगरमाथामै अस्ताए २ विदेशी आरोही

बैशाख ३० २०७८, बिहीबार

काठमाडौं । सगरमाथा  आरोहणमा गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो ।

उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए । दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ । सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए । उनले साउथ समिटमा अन्तिम सास फेरेका हुन् । त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो ।

उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए । त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ । यसपालिको वसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो ।