कपिलवस्तु । नेकपाका महासचिव नेत्रविक्रम चन्दले कपिलवस्तुमा जनस्वास्थ्य सेवाकेन्द्रको शिलान्यास गरेका छन् । जिल्लाको शिवराज नगरपालिका–९ मा मंगलबार चन्दले जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरेका हुन् । वडा नं ९ को बानियाँभार उक्त भवनको शिलान्यास गरिएको हो ।
सो स्थान राजनीतिक हिसावले मिनि रोल्पाको रुपमा चिनिन्छ । सो भवन चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले ६३ लाखको खर्चमा निर्माण गर्न लागेको जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माण समितिका अध्यक्ष यादव चन्दले जानकारी दिए । एक महिनामा भवन निर्माणको काम सम्पन्न गरिने यादवले बताए । भवन शिलान्यास कार्यक्रममा बोल्दै महासचिव चन्दले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि संक्रमितहरुको उपचारका लागि सहजरुपमा विभिन्न सेवाहरु यस केन्द्रबाट प्रदान गर्ने बताए ।
जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत चन्दले जनाए । जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालिनरुपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडी बढाउने उनको भनाई थियो ।
सबैले मिलेर यसलाई समय अनुसार विस्तारै सुविधा सम्पन्न अस्पतालको रुपमा पनि बनाउनुपर्नेमा उनको जोड थियो । कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै उनले सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेको आवश्यकता भएको जिकिर गरे ।
कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द, केन्दीय सदस्यहरु संजिव, असल, जुझारु, नेकपा कपिलवस्तु सचिव शेरमान, शिवराज–९ वडाअध्यक्ष चुरबहादुर खड्का, सहिद प्रतिष्ठान अध्यक्ष भेक ब. थापा, शिवगढी सेक्रेटरी पावेलको पनि उपस्थिति रहेको थियो ।