काठमाडौँ /
कोरोना खोपमा अनियमितता नभएको स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयश त्रिपाठीले दाबि गरेका छन्। मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले कसैलाई एकपैसा पनि कमिशन नदिएको बताए। खोपको बारे बुझेर मात्र बोल्न आग्रह गर्दै मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस तर बुझेर मात्र बोल्नुस। अफवाह, झुट्टा,अनर्गल र आत्मरतिका लागि नबोल्नुस।’
कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएका खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।
नेताहरुलाई बुझेर मात्र बोल्न वेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इन्स्टीच्युटबाट ५० लाख डोज खोप चाहिँ किन खरिद हुन सकेन भन्ने भने केही खुलाएनन। मन्त्रीले बताए अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज कहिले आउछ भन्ने टुंगो छैन।
सो कम्पनीमा भएको आगलागि,भारतमा महामारी बेसरी फैलिएपछि भारतले खोप निर्यातमा रोक लगाउदा खोप आउन ढिला भएको भन्दै उनले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिएको छ। सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशको रुपमा नेपालमा खोप आउछ भन्ने विश्वासमा छौं।’