• मंसिर १४ २०८१, शुक्रबार

संक्रमित सांसदलाई भवन बाहिरै टेन्टमा राखिने, मतदानको व्यवस्था यसरी मिलाइयो

बैशाख २६ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्रीले सोमबार संसदमा ‘विश्वासको मत’ लिँदैछन् । संसद बैठकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका सांसदलाई मतदान प्रक्रियामा भने सहभागी गराउने व्यवस्था मिलाइएको छ ।

आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई समेत मतदानमा सहभागी गराउने निर्णय गर्दै मतदानका लागि व्यवस्था मिलाइएको हो ।

संसद सचिवालय स्रोतका अनुसार उनीहरुलाई संसद भवन परिसरमा टेन्टमा राखेर मतदान प्रक्रिया सुरु भएपछि संसद भवनको ल्होत्से वा शंकर हलमा मतदानको व्यवस्था मिलाइने छ । मतदानपछि त्यहीँबाट सोझै घर जाने व्यवस्था गरिएको संसद सचिवालय स्रोतले बताएको छ ।

संसद बैठकअघि वैशाख २२, २३ र २४ गते सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जसमध्ये दुई दर्जनभन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।