• मंसिर १७ २०८१, सोमबार

१० वर्षमा एउटै जिल्लाबाट भण्डै १ हजार महिला बेपत्ता

बैशाख १३ २०७८, सोमबार

विराटनगर । नेपाली महिलाहरु बेचिने र बेपत्ता हुने घटना नयाँ होइन । उनीहरुलाई भारतमा लगेर बेचबिखन गरिने र त्यस्ता अपराधिक कार्यमा उनकै नजिकका आफन्तहरु संलग्न रहेको पाइएको छ । पछिल्लो पटक उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमा लगायत नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए । माइती नेपाल मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एकवर्षको अवधिमा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ ।

सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापाका महिलालाई बेचबिखनबाट रोक्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रबाट उद्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचबिखन गर्न लगिएका युवती तथा महिलालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाइएको संयोजक पोखरेलले बताए । मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको माइती नेपालको कार्यालयमा उजुरी दर्ता भएको छ ।

अधिकांश महिलालाई भारतमा राम्रो रोजगारी लगाउने प्रलोभन देखाएर लग्ने गरेको पीडित महिलाबाट जानकारी प्राप्त भएको छ । भारतलगायत तेस्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुललाई बेपत्ता बनाएको माइती नेपालले जनाएको छ । गत एक वर्षमा ११ वटा करणीका घटनामा कार्यालयमा उजुरी परेकामध्ये १८ वर्षदेखि २६ वर्षमुनिका रहेका छन् । यस्तै अघिल्लो वर्ष सातवटा करणीको उजुरी परेको संयोजक पोखरेलले जानकारी दिए । यस वर्ष २५ वटा घरेलु हिंसाका घटनाको उजुरी परेको छ । अघिल्लो वर्ष १७ वटा दर्ता भएका थिए ।

कोभिड–१९ का कारण विराटनगरको रानी सीमानाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभन देखाई युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि पुर्याउने गरेको कार्यालयले जनाएको छ । कोभिड-१९ का कारण विगत वर्षभन्दा यस वर्ष चेलीबेटी बेचबिखनका घटनामा केही कमी आएको छ । बिचौलियाले युवतीलई मिस कल गर्ने, छोटो सन्देश पठाउने, फेसबुक, इमेल लगायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ बेचबिखनका लागि लग्ने गरेका छन् ।