लामो सामयदेखि चलिरहेको अस्तव्यस्त जीवन, लकडाउन खुलेपछि पुनः पहिले जस्तै हुँंदा सबै मानिसको अनुहारमा खुशी झल्केको थियो । यो खुशीमा रमाउन नपाउँंदै कोभिडको दोस्रो शक्तिशाली आक्रमण मानिसहरुमा अर्काे ठूलो बज्रपात साबित भएको छ । पुनः कोभिडको महामारी फैलिन नदिनको निम्ति सरकारले कोभिडको खोप जनतामाझ उपलव्ध गराइरहेको छ ।
भनिन्छ नि अपूर्ण ज्ञान जीवनका लागि हानिकारक हुन्छ । यो तथ्यलाई आज मानिसहरु साबित गर्न आतुर छन् । कोही भन्छन्, कोरोनाको खोपले मानिस विराम हुन्छ, जसकारण मानिसको ज्यान जान सक्छ । कोही भन्छन्, खोप लगाएपछि कोरोना लाग्छ । कसैले भन्छन्, मुटु रोग, मधुमेहजस्ता रोगका विरामीलाई खोप श्राप हो । यस्तो विभिन्न प्रश्नको जवाफ सोच्न बाध्य छन्, नेपाली जनता । कोरोना भाइरसको खोप लगाउँंदा यस्तो कुनै प्रभाव नहुने अमेरिकाका डा. रोबर्ट गावेको भनाइ छ ।
खासगरी कोभिड भ्याक्सिनले शरीरको प्रतिरोधात्मक शक्तिलाई भाइरससँंग लडन तयार गर्छ । हाम्रो शरीरमा एन्टिवडी बन्न मद्दत गर्छ र कथमकदाचित कुनै मानिस कोभिडबाट संक्रमित भएमा छिटोभन्दा छिटो शरीरले एन्टिबडी तयार गरी रोगसँग लड्ने काम गर्दछ । साधारणतया पहिलो चरणको खोपले शरीरमा कोरोनाविरुद्ध एन्टिबडी बनाउन मद्दत गर्दछ भने दोस्रो चरणको खोपले बनेको एन्टिबडी कोरोनाविरुद्ध छिटो र राम्रो काम गरोस् भनी एन्टिबडीलाई बलियो बनाउने काम गर्दछ ।
पहिलो चरणको खोप लिएपछि साधारणतया मानिसमा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, पेट दुख्नेजस्ता समस्या देखिएकाले मानिस दोस्रो चरणको खोप लगाउन डराएका छन् । तर खोप लिएपछि यस्तो दुखाइले शरीरमा खोपले गर्नुपर्ने काम गरिरहेको सङ्केत मानिन्छ । त्यसैले दोस्रो चरणको खोप पनि अनिवार्य रुपमा लिन डाक्टर आग्रह गर्दछन् ।
विगतका तथ्यअनुसार मुटु रोग, मधुमेह, दमका विरामीमा कोभिड हानिकारक साबित भएको पुष्टि गरेको छ । नेपालमा पनि कोभिडबाट मृत्यु हुनेमा धेरैजसो मधुमेह, मुटुरोगी र दमका बिरामी रहेको पछिल्लो तथ्याङ्कले पुष्टि गरेको पाइन्छ । यसैकारण खोप लगाउने प्राथमिकतामा यी रोगका बिरामी पर्दछन् । कोरोनाको खोपले यी रोगका बिरामीमा केही नकारात्मक प्रभाव नपर्ने र खोप कोभिडबाट र मृत्युको मुखबाट बच्ने ब्रम्हास्त्र हो भनी अमेरिकाका डाक्टर रोबोर्टले आफ्नो तर्क राखेका थिए ।
कुनै पनि खोपले शतप्रतिशत सुरक्षा दिंदैन । हरेकमा कुनै न कुनै कमी कमजोरी हुन्छ । कोभिडविरुद्धको खोपमा पनि यो कुरा लागु हुन्छ । तर यस्तो महामारीमा यो खोप वरदान बनी थुप्रै देशमा थुप्रै मानिसको ज्यान बचाएको तथ्यलाई नजरअन्दाज नगरी सम्पूर्ण नेपाली जनता ढुक्कका साथ कोभिडविरुद्धको खोप लगाउन नजिकको स्वास्थ्य चौकीमा पुगी सरकारद्वारा चलाइएको खोप अभियानलाई पूरा गरौं ।
(किसी बि-फार्मेसीका विद्यार्थी एवम् नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य हुन् ।)