काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार सांसदहरूलाई पार्टीले फिर्ता बोलाउने तयारी गरेको छ । लुम्बिनी प्रदेश बैठकको निर्णयअनुसार उनीहरूलाई पार्टीले फिर्ता बोलाउने तयारी गरेको हो ।
सोमबार लुम्बिनी प्रदेशमा बसेको बैठकको निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको उक्त प्रदेश कमिटीले जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदहरू सन्तोष पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी मन्त्री बनेका छन् । मन्त्री बनेका ती चार सांसदहरूलाई २४ घण्टे स्पष्टिकरण सोधिएको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।
मंगलबार पार्टीको नियमविपरीत मन्त्री बनेका चार सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको यादव बताउँछन् । तथापि पत्र पठाएको केही समय बिते पनि उनीहरूले स्पष्टीकरण नदिएको जसपा लुम्बिनी प्रदेशका एक सदस्यले बताए ।
मुख्यमन्त्री पोखरेल र प्रदेश मन्त्रिपरिषद्को अविश्वासका कारण जसपा लुम्बिनी प्रदेश समितिको गत चैत्र २६ को निर्णय र जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलको बैशाख ६ कोे निर्णयअनुसार सांसदहरूलाई ह्विप जारी गरिएको दलका नेता सहसराम यादवले बताए ।
स्पष्टीकरण पत्रमा भनिएको छ, –‘यो निर्णयअनुसार राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाईं आफैलाई थाहा हुँदाहुँदै यसको विपरित मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वको मन्त्रिपरिषद् सदस्यमा सपथ ग्रहण गर्नु ह्विप उल्लंघन हो ।’
स्पष्टीकरण पत्रमा मन्त्रीहरूलाई दल र दलनेताको ह्विप किन उल्लंघन गरेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री सन्तोष पाण्डे भन्छन्, –‘बहुमत सांसदहरूको बैठकले आफूलाई जसपाको संसदीय दलको नेता बनाएको बताएका छन् ।’
यसका साथै संसदीय दलको बहुमतको निर्णयले पार्टी सरकारमा गएकोले स्पष्टीकरणको औचित्य नरहेको उनी बताउँछन् । पाण्डेले आफूहरूलाई अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने बताउँदै आएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी जसपा लुम्बिनी प्रदेशका एक सदस्यले गोल मिडिया खबरलाई दिएको जानकारीअनुसार चार सांसदहरूले स्पष्टीकरण हालसम्म दिनु भएको छैन । र, नदिने संकेत देखिएको उनी बताउँछन् ।
उहाँहरूले चौबीस घण्टाभित्रै स्पष्टीकरणको जवाफ नदिए फिर्ता बोलाउने तयारी पनि गरिएको छ । यदि फिर्ता बोलाउँदा पनि नआए पार्टीले कारबाही गर्नुका साथै पार्टीबाट निलम्बनसमेत गर्न सक्ने उनले चेतावनी दिएका छन् ।