१. थाहा नपाई दिइएको सजाय
जर्मन चान्सलर एञ्जेला मेर्केल कुकुरसँग निकै डराउँछिन् । उनलाई छिमेकीको कुकुरले नराम्रोसँग टोकेपछि उनी कुकुरदेखि डराउन थालेकी हुन् । यो कुरा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई थाह थिएन ।
सन् २००७ को कुरा हो, राष्ट्र प्रमुखहरुको भेटघाटको क्रममा पुटिन र एञ्जेला मेर्केलबीच कुराकानी चलिरहेको थियो । त्यति नै बेला पुटिनको ल्याब्रेडोर जातिको कालो कुकुर वार्ता कक्षमा पस्यो । एक्कासी कुराकानीको सिलसिला टुट्यो ।
पुटिन अकमकाए । मेर्केल चूपचाप र शान्त रहिन् । उनी शिलाझैं अचल अवस्था रहिन् । कारण थियो, कालो कुकुरले उनलाई पहिचानका लागि सुँघ्न पुगेको थियो । निकै भद्र किसिमले कुकुर उनको चारैतिर सुँघ्दै घुम्यो । यो पुटिनका लागि स्वाभाविक र आनन्दको कुरा थियो ।
तर मेर्केलका लागि यो निकै पीडादायी र असैह्य थियो । यो उनलाई पुटिनले सजाय दिएसरह थियो । तर पुटिन चाहन्थे- कालो, मायालु र भलाद्मी ल्याब्रेडोरले मेर्केललाई आफूलाई झैं स्वगत गरोस् । र, त्यो स्वागतको अनुभूति मेर्केलले पनि गरुन् ।
तर मेर्केलले मुस्किलले स्वास लिइरहेको देखेर पुटिन एक्कासी छाँगाबाट खसे झैं भए । उनले विना ढिलाई माफी मागेर ल्याब्रेडोरलाई बाहिर निस्कन भने । कुकुर तुरन्त बाहिर निस्कियो । मेर्केलले ‘एक पाथी’ सास फेरिन्– ‘स्वाँ .ऽऽ… ।’
उनलाई असजिलो पारेकोमा फेरि पनि दोहर्याएर माफी मागे, पुुटिनले ! मेर्केल सन् १९९५ मा छिमेकीको कुकुरले टोकेर बिरामी परेपछि तर्सिने गर्दछिन् । तर पुटिन भने सौखिन कुकुुर पालक हुन् । उनीसँग विभिन्न जातका धेरै कुकुर रहने गरेका छन् ।
मेर्केलको अनजानमा सातो लिने ल्याब्रेडोर कुकुरको नाम थियो– कोनी ! यो पुटिनको सबैभन्दा प्यारो कुकुर थियो । यो पुटिनका मन्त्री सेर्गेइ शोइगुले पुटिनको पहिलो राष्ट्रपति विजयका बेला सन् २००० मा उपहारस्वरुप दिएका थिए ।
२. समातिरहनु पर्ने अमेरिकी राष्ट्रपति कारको ढोका
किन समातिरहनु पर्छ, अमेरिकी राष्ट्रपतिको कारको ढोका ? कारको ढोका त कारमा पस्दा र निस्कदा खोल्ने अनि बन्द गर्ने गरिन्छ । तर अमेरिकी राष्ट्रपतिको कारको ढोका समातेर नै खुला राख्ने र त्यो पनि दुवैतिर खोल्ने गरिन्छ ।
आश्चर्यको कुरा त के छ भने यी ढोकाहरु एयरलाइन्सको ढोका झैं निकै गह्रुंगा र चोट पुर्याउने खालका हुन्छन् । यी ढोका बुलेटप्रुफ सिसा र अस्त्रले क्षति नपुर्याउने गरी निर्माण गरिएका हुन्छन् । कार भित्रको ठाउँ त यति साँगुरो हुन्छ कि बच्चा गर्भावस्थामा बसे झैं लाग्छ । ढोका १४ इञ्च मोटा हुन्छन् ।
कारको माथि छतको भाग पनि ७ इञ्च बाक्लो हुन्छ । यो पनि कुनै पनि अस्त्रले क्षति नपुर्याउन खालको हुन्छ । यो निकै सुरक्षित र बलियो हुन्छ । त्यसैले पनि सुरक्षामा खटेका सुरक्षाकर्मीहरुले ढोका समातेर अड्याइरहेका हुन्छन् ।
३. अल कायदा र बिन लादेन अमेरिकी उत्पादन हुन्
सुन्दा आश्चर्य लाग्न सक्छ, अल कायदा अमेरिकाले किन र केका लागि बनायो होला ? त्यसका नेता बिन लादेनलाई अमेरिकाले किन बनायो होला ? आखिर फेरि बिन लादेनलाई किन मार्यो त अमेरिकाले ? अल कायदा खोज्दै र मार्दै किन गरिरहेको छ ?
अमेरिकी प्रशासनले अल कायदा र यसमा आबद्ध सबैलाई एक नम्बरका दुस्मन घोषणा गरेको छ । जहाँ भेट्यो, त्यही मार्नका लागि आदेश जारी गरेको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा दुईवटा जहाज जोताएर ध्वस्त पारेदेखि त अल कायदातिर को र अमेरिकातिर को भनेर विश्वमा कित्ताबन्दी गरी लडाइँ नै घोषणा गरेको थियो, किन ?
यसको पृष्ठभूमि निकै चाखलाग्दो छ । विश्वयुद्धपछि विश्वमा शीतयुद्ध सुरु भयो । यो युद्ध तात्कालिन अमेरिका र तात्कालिन सोभियत युनियनका बीचमा चलेको थियो । अमेरिकामा साम्राज्यवादी पुँजीवादी शासन थियो भने सोभियत रुसमा समाजवादी व्यवस्था । यही दुई विपरीत व्यवस्था भएका कारण यी दुईमा शीत युद्ध चलेको थियो ।
यसको समय सन् १९४७ मा तात्कालिन अमेरिकी राष्ट्रपति ट्रुम्यानले प्रतिपादन गरेको ट्रुम्यान डक्ट्रिनदेखि सन् १९९१ मा तात्कालिन सोभियत युनियनको विघटनसम्म रहेको छ । शीतयुद्ध मूलतः अमेरिकाले सोभियत युनियनको प्रभाव रोक्न गरेको युद्ध थियो ।
सन् १९७८ मा सोभियत युनियनले पाकिस्तानमाथि अतिक्रमण गर्दैछ भन्ने हल्ला संसारभर फैलाइयो । त्यही प्रचारात्मक कभरमा अमेरिका पाकिस्तानमा पस्यो । अमेरिकाले भनेको थियो, पाकिस्तानमा सोभियत रुसलाई पस्न र कम्युनिष्ट बनाउन दिइने छैन । यसलाई युरोपेलीहरुले पनि समर्थन गरे ।
सन् १९७९ मा अमेरिकाले पाकिस्तानमा रहेका मुस्लिम धर्मका विभिन्न समूहमध्ये एउटा समूहलाई राम्रो गरी समात्यो । र्यालीहरु गर्न लगायो । सोभियत विरोधी गतिविधिमा संलग्न बनायो । पाकिस्तानलाई कम्युनिष्ट विहीन देश बनाउने घोषणा पनि गर्यो । खर्चका लागि ३ करोड डलरको पहिलो बजेट पनि निर्माण गरिदियो ।
यसका साथै सैन्य लजिस्टिक्स, तालीम तथा हातहतियार छुट्टै उपलब्ध गरायो । पाकिस्तानी जनता र अमेरिकाले छानेको धार्मिक समूह निकै उत्साहका साथ कान्दाहार क्षेत्रलाई आधार बनाएर रुसविरुद्ध युद्धको तयारीमा लागे । रुससँग लड्न भनेर कान्दाहारमा त्यसबेला बनाइएका सुरुङ, ट्रेञ्च र गुफाहरु अहिले पनि जस्ताको तस्तै देख्न पाइन्छ ।
यहीबाट जन्मिए अल कायदा र यसका नेता बिन लादेन । तर लामो समय काम गर्दै जाँदा यो धार्मिक समूह एकातिर, अतिवादी मुस्लिम लडाकूमा परिणत भयो भने अर्कोतिर सन् १९९१ मा तात्कालीन सोभियत १५ वटा गणराज्यमा टुक्रिइसकेपछि अल कायदा र बिन लादेनको जन्म गराई साँधेको अमेरिकी उद्देश्य पनि अब सफल भयो । अल कायदा र बिन लादेनको अब उप्रान्त काम नै रहेन ।
त्यसपछि विन लादेनलाई अमेरिकाले आफै आतंककारी घोषणा गरेर संसारभर खोजी गर्न थाल्यो । आखिर पाकिस्तानकै ओटावा सहरमा अमेरिकी अति गोप्य सेनाको टुकडीमार्फत् सन् २०११ को मे महिनाको २ तारेखमा उनको हत्या गरायो । अहिले अल कायदाको खोजीको बहानामा संसारभर अमेरिकाले बमबारी गर्दै गैरहेको छ ।