वैदिक सनातन धर्मालम्बी अर्थात् हिन्दुहरुका महत्वपूर्ण चाडपर्वमध्ये होली एक महत्वपूर्ण पर्व हो । खासगरी नेपाल र भारतमा विशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ । होली वसन्तको चाड, रङहरुको पर्व, प्रेमको उत्सव आदि नामले परिचित रहेको छ । तराइमा फगुवा वा फागु पनि भन्ने गरिन्छ । तराइमा होली र मिथिला परिक्रमाको सम्बन्ध जोडिएको छ । मिथिला परिक्रमाको समापन जनकपुर अन्तगृह परिक्रमा समापनपश्चात् हुन्छ । जनकपुर अन्तगृह परिक्रमा पूर्णिमाको दिन घुम्ने गरिन्छ । पूर्णिमाको भोलिपल्ट मात्र तराइमा होली मनाउने चलन छ । पहाडी जिल्लाहरुमा फाल्गुण पूर्णिमाकै दिन होली मनाउने चलन छ ।
होली र हिन्दु पौराणिक कथा :
हरेक हिन्दु चाड पर्व कुनै न कुनै पौराणिक कथासँग जोडिएको छ । होली महोत्सवको उत्पत्ति महाभारतमा फेला पार्न सकिन्छ, भारतीय प्रशिद्ध महाकाव्य पौराणिक कथाअनुसार राजा हिरण्यकश्यपु एकदम अहंकारी थिए । मानिसलाई भगवान विष्णुको पूजा गर्न दिदैन थिए । यद्यपि राजकुमार प्रह्लाद विष्णुको परम् भक्त थिए । त्यसैले उनले आफ्ना बाबुको खुलमखुल्ला विरोध गरे । यसले अहङ्कारी हिरण्यकश्यपुलाई रिस उठायो ।
त्यसबेला राजाले आफ्नी बहिनी होलिकालाई पूर्णिमाको रात राजकुमार जलाउन आदेश दिए । होलिकासँग आगोमा पनि नजल्ने वरदान प्राप्त एउटा वस्त्र थियो । भगवान विष्णुको आशीर्वादमा प्रह्लाद बाच्यो जबकि होलिका जल्यो । जब राजकुमार आगोबाट बाहिर निस्के, मानिसले उनलाई भलाइ र नम्रताको प्रशंसा व्यक्त गर्न रङ्गीन पानीले छर्किए । दुष्टमाथि सदाचारको विजय भएको स्मरण गर्न होली मनाउने चलन रहेको छ । होलीले प्रेम र सदभाव कायम राख्न विशेष जोड दिने गरेको छ ।
होलीको सुरुआती :
होली धेरै महत्वहरु रहेको छ । मुख्यतः यो वसन्तको सुरुआतको रुपमा मनाउने गरिन्छ । १७ औं शताब्दीका साहित्यहरुमा होलीलाई कृषि उत्सवको रुपमा पहिचान गरेको पाइन्छ । होलीले जाडोको अन्त्य, वसन्तको आगमन, विच्छेदित सम्बन्धलाई नवीकरण गर्ने, द्वन्द्वको अन्त्य गर्ने, आफुलाई भावनात्मक अशुद्धताबाट छुटाउने र प्रेमपूर्ण सम्बन्धको सुरुआत गर्ने दिनको संकेत गर्दछ । होलीले प्रेम र सदभावको सन्देश प्रबाह गर्ने गर्छ ।
होलीमा परिवार, आफन्त, छिमेकी र इष्टमित्रहरु भेला हुने, एक अर्काकोमा जाने, खानपिन गर्ने, रङ अबीर लगाउने र रमाइलो गर्ने चलन छ । ठूलोले सानोलाई रङ अबीर लगाएर स्नेह प्रकट गर्दै अशिर्वाद दिने र सानोले ठुलोलाई रङ अबीर लगाएर सम्मान प्रकट गर्दै अशिर्वाद लिने गर्छ । होलीमा उचनिच, ठुलोसानो, धनीगरीब आदि कुनै किसिमको भेदभाव नराखी सबैजना एकअर्कासँग गला मिल्ने र एकअर्का प्रति सदभाव दर्शाउदै रङ र अबीर लगाउने गर्छन । यसलाई सामाजिक सदभाव कायम गर्ने अवसर प्राप्त भएको दिनको रुपमा लिन सक्नु पर्छ ।
तराइमा होली :
तराइमा होलीको विशेष महत्व रहदै आएको छ । पहिले पहिले तराइमा विशेष किसिमले होली मनाउने गरिन्थ्यो । समूह बनाएर स्थानीय बाजागाजासहित होरी गाउँदै घरघरमा जाने र होली खेल्ने चलन थियो । होलीमा होरी अर्थात् लोकगीतको विशेष महत्व हुन्छ । एक अर्कालाई ब्यङ्ग्य गर्ने, जिस्किने, होरी गाउने र राधाकृष्णको प्रेमको चर्चा गर्दै भजन गाउने आदि होलीको मुख्य आकर्षणको रुपमा रहेको थियो र रहनु पनि पर्छ । तर आधुनिकताको विकाससँगै बढ्दो सहरीकरण र घटदो युवा आकर्षणको कारण होली मनाउने मौलिक चलन लोप हुने खतरामा रहेको छ । अहिलेसम्म यो चलन ग्रामीण भेगमा कही कही कायमै रहेको छ । होली मनाउने नयाँ नयाँ विकृतशैली भित्रिने क्रम जारी रहेको छ।
होली खानपिनसँग पनि जोडिएको पर्व हो । होलीमा पेय पदार्थ सेवन गर्ने चलन रहेको छ । यही चलनको नाममा होलीमा अत्याधिक रक्सी सेवन गर्ने, भाङ र गाँजाजस्ता नसालु पदार्थ सेवन गर्ने चलन बढ्दो छ । यसले होलीलाई विकृत बनाउँदै लगेको छ । होलीमा खानपिन गर्ने हाम्रो परम्परा हो । तर आफु होसमै रहन नसक्ने गरी नशालु पदार्थको सेवन गर्नु हाम्रा कुनै चाँडपर्वले सिकाउँदैन । होली मनाउन नशालु पदार्थ सेवन गर्नै पर्दैन । सेवन गर्नै परेमा सरकारले सेवन गर्न छुट दिएको नशालु पदार्थ सिमित मात्रामा सेवन गरेर होली मनाउन उपयुक्त हुन्छ ।
रङ र अबीरको पर्व :
यसले होलीको आकर्षण जोगाइ राख्न र होलीलाई विकृतिको पर्व बन्नबाट जोगाउन मद्दत पुग्नेछ । अहिले होलीले दिने सन्देश ग्रहण गर्नु र होलीको महत्व बुझ्नुभन्दा होलीलाई मादक पदार्थ सेवन गर्न छुट पाएको दिनजस्तो लिने गरेको पाइन्छ । जुन कार्य होलीले दिने सन्देशविपरीत रहेको छ र बढ्दो क्रममा रहेको छ । यस्ता क्रियाकलाप हाम्रो धर्म र संस्कृतिविपरित मात्र होइन, हाम्रो संस्कारको खिलापमा समेत रहेको छ ।
होलीमा रङ र अबीरको विशेष प्रयोग हुने गर्छ । होलीलाई रङ र अबीरको पर्व समेत भन्ने गरिन्छ । अहिले होलीको रङ र अबीरमा विभिन्न किसिमको रसायन मिसाउने गरिन्छ । यस्ता रसायनले मानव स्वास्थमा प्रतिकुल असर पार्न सक्छ । तसर्थ होली मनाउँदा रङ र अबीरको प्रयोगमा विशेष ध्यान दिन जरुरी छ । साथै जबरजस्ती होइन कि सहज र सौहार्दपूर्ण रुपमा मात्र रङ र अबीर लगाउनु उचित हुन्छ । हामी ससाना केटाकेटी हँदा पिचकारीमा रङ् भरेर होली खेलेको अझै सम्झिन्छु । त्यति बेलाको होलीको कुरै बेग्लै थियो । अहिले होलीमा पिचकारी भन्दा लोला, रङ र अबीरभन्दा पेन्ट र लुब्रिकेन्टस्को प्रयोग बढ्नुको साथै गला मिल्ने नाममा लुगा च्यात्ने, टुटेको सम्बन्ध जोडनुको सट्टा प्रतिशोध साध्ने प्रवृत्ति बढेको छ ।
विकृति र अस्लिलता कायमै :
हाम्रो हरेक परम्परा, संस्कृति र चाडपर्वमा विकृति र अश्लिलता हाबी हुन थालेको छ । होली पनि विकृत र अश्लिल बन्दै गएको छ । होली उदार हृदयका साथ मनाउने गरिन्छ । यसमा प्रेम, सदभाव, आदर्श, आदर र संस्कारका कुराहरु रहेको छ । अहिले होली मनाउने क्रममा विभिन्न अप्रिय घटनाहरु घट्ने गरेको पनि सामाचार आउँछ । होलीमा रङ लगाउने र खानपिन लगायतको कार्यमा भए -गरेको जबरजस्ती लगायतका विभिन्न विकृति र अश्लिलताले होलीको महत्वमा कमी ल्याउने काम गरेको छ । यसले होलीको उद्देश्य र सन्देशलाई समेत ओझेलमा पार्न खोज्दै छ ।
होली प्रेम र सदभावको पर्व रहेको र यसलाई प्रेम र सदभावकै पर्वको रुपमा कायम राख्नु पर्छ । यसको लागि होली मनाउने नाममा बढ्दै गएको विकृति र अश्लिलतामा रोक लगाउन सक्नु पर्छ । साथै होली मनाउने हाम्रो बाउ-बाजेको विकृति र अश्लिलतारहित संस्कारको विकास गर्न जरुरी छ ।
भिडभाडरहित हुन सकेन :
गत वर्ष बढ्दो कोरोना संक्रमणको कारण प्रशासनले सावधानी अपनाएर भिडभाड नगरी होली मनाउन आग्रह गरेको थियो । साथै रङ र पानीको प्रयोग नगर्न अह्वान गरेको थियो । यसपाली पनि अवस्था फरक जस्तो छैन । केही समय संक्रमणमा कमी आएको भए पनि छिमेकी मित्र राष्ट्र भारतमा संक्रमण बढेसँगै हाम्रो देशमा जोखिम बढिरहेको छ । तसर्थ, यसपाली पनि होली मनाउने क्रममा सवधानी अपनाउन जरुरी छ । स्वास्थ्य सावधानी अपनाएर मात्र होली मनाउन बुद्धिमानी हुनेछ ।