चैत्र २६ गतेदेखि टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह प्रचण्डका आफ्ना रहेनन् । प्रचण्डको पार्टी माओवादी केन्द्रले गरेको कारवाहीको सिफरिसअनुसार संसद सचिवालयमा प्रक्रिया पुर्याएर उनीहरुको प्रचण्डसँग जोडिएको नाल काटियो र स्पष्ट नामाकरण गरियो ‘एमाले’ । यस अघिसम्म प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले उनीहरुलाई ‘मेरा एमाले नेता’ भने पनि समाजले ‘प्रचण्डका माओवादी नेता’ देख्ने गरेको थियो ।
आज ओलीको हातमा चार पुत्रलाभको धागो बाँधिएको छ । कानमाथि पातीको मुन्टा घुसारिएको छ । अनि, काम्लोको टोपीमाथि गुएँलाको फूल राखिएको छ । यता भने प्रचण्ड काख रित्तिदै गएकोमा बिरक्त छन् । कोखबाट जन्म लिएकाहरु आफूसँग नरहेपछि त हो काख रित्तिने । ओलीको आगन भरिदो छ । ‘चिन्नाभरि चामल’ भए पनि ओली ‘सन्तानले डाँडाकाँडा ढाक्न’ बेर छैन !

समय हो, आएको र गएको पत्तो नै हुँदैन । कर्णाली र सुदूर पश्चिमेली जनताले त्यसै त बिरह लाग्ने गीत गाउँदैनन् होला– ‘म त सोच्दो दिन बित्दा हुन्, जोवन जान्या रै’छ !’ पृथ्वी एउटै छ । यहाँ रहेका पदार्थ र चिजबिज पनि उही छन्, उही पैमानामा । एउटाको भाग खोसिने र अर्काको भागमा पोषिने त हो ।
कार्बाही प्रचण्डले गरे, फलप्राप्ति ओलीलाई ! एक सदस्यका कारण पनि जित र हार हुने लुडोको खेल झैं संसदीय खेलका लागि सिट संख्या तल पर्यो । ५३ जना रहेको माओवादी केन्द्र ४९ मा झर्यो । यो सबै कुराको दोषी स्वयम् प्रचण्ड छन् । उनको मुख्य दोष हो, उनले आफ्नै घर धानेर खाने हैसियत र ल्याकत राखेनन् । ‘मूर्ख साथीहरुभन्दा विद्वान दुस्मन ठीक’ भन्दै आफ्नै घरमा आगो लगाएर हिंडे । घर पोलेपछि खरानीको के पीर !

तर उनमा पलाएको विभ्रम लामो समय रहेन । उनले बाँच्नकै लागि पनि अरुको घरदैलोमा चाहार्ने अवस्था सिर्जना भयो । अरुको चूल्होचौकोमा उनको नाच र उनको हात अरुलाई सैह्य थिएन र भएन पनि । तर उनी ‘दरिद्र (सर्वहारा ?) को जीवन साथी हुनुभन्दा धनाढ्य (पुँजीपति) को रखैल (दलाल) उत्तम’ भन्ने निष्कर्षमा पुगे । यही सोच्दै भाउन्न भएर अरुको घरदैलो निकै चाहारे पनि ।
उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको जीवन साथी हुन र त्यसलाई सहवरण गर्न राजी भए । सहवरण गरे पनि । त्यो नेपाली कांग्रेसलाई पचिरहेको थिएन, भोट आएन कांग्रेसबाट । मतपत्र च्याते । ठूलो बेइज्जत भयो । रोए, कराए, चिच्याए, आखिरमा ‘क्षमादान’ मागे । यस्तै चल्दै थियो, त्यहाँबाट भागे । बाम गठबन्धनको नाममा मगनी भयो, उनी निकै सिंगारिए, बेहुली झैं !

ओलीलाई के खोज्छस् कानी, आँखो ! यो विवाहमा पर्दापछाडिका बडेमानका धनाढ्य आयोजकले निकै धनदौलत र दाइजो दिए । निर्वाचनमा गाउँका टोलटोल र घरघरमा राँगा, खसी, बोका, हाँस कुखुरा, सुंगुर र कत्ति नभए पनि ब्रोइलर र उसिना चामलको भतेर लगाइयो । रक्सीको छेलोखेलो, देखिन्थ्यो अन्तरविरोध पनि ! कहाँ ‘माक्र्सवादका कुरा’, कहाँ ‘मासुभात र सुरा ?!’
आखिर ओलीजीसँग प्रचण्डको सहवरण भयो । गठबन्धन बन्यो । पछि पार्टी एकता पनि । दुईतिहाई आयो । सरकार बन्यो पनि । लगत्तै घरझगडा सुरु भयो । उनको ‘सहकार्य’ र ‘सहवरण’ अब ‘सरोगेसी’ मा रुपान्तरित हुँदै गयो । मन भाँचियो, घर फुट्यो । एमाले र माओवादी केन्द्र पुनः ब्युतिए । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अस्तित्वमा छैन । त्यो अब अदालती सम्बन्ध–बिच्छेदको कागजमा सिमित भएको छ । तीजको पुरानो गीतमा गाउँथे– ‘तक्धने तिल्के नक्धने बाई, तेरो जोवन तैंलाई हो, मेरो जोवन मैलाई हो, तक्धने तिल्के नक्धने बाई !’

तथापि आजको अवस्थामा तात्कालिक हिसाबले प्रचण्डको ‘सरोगेसी’का कारण ओलीलाई पुत्रलाभ भने हुन गएको छ । यस सन्दर्भमा ओली र प्रचण्डले एउटा मात्र भए पनि संस्कृतको श्लोक स्मरण गर्नु बढि समय सान्दर्भिक हुने देखिन्छ– ‘ऋणकर्ता पिता शत्रु माता च व्यभिचारिणी !’