काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।
जनदबाबपछि भक्तपुर नगरपालिकाले बिस्का जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ तान्ने, योसिङ (लिंगो) ठड्याउने तथा ढाल्ने जात्रा नरोक्ने भएको हो ।
भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाल र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको उपस्थितिमा बुधबार भएको भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले बिस्का जात्रा गर्न दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो । सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय बदर गरी पाउन माग गर्दै भक्तपुर नगरपालिका ५ निवासी ४३ वर्षीय अधिवक्ता राजकुमार सुवालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा नेपालमा लकडाउन आदेश जारी नगरिएको तथा कोभिड १९ को संक्रमण नियन्त्रित अवस्थामै रहेकाले एकतर्फी रुपमा बिस्का जात्रामात्रै रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गरिएको छ ।