• बैशाख १८ २०८३, शुक्रबार

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

चैत्र २५ २०७७, बुधबार

काठमाडौँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान शुरु भएको हो ।

केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।

देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।

अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।