म्याग्दी/
यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वनक्षेत्रमा क्षति पुगेको छ। वनमा आगलागी हुँदा साना थाथा ठुला सयौं रुख बिरुवा जल्नुका साथै बहुमुल्य जडीबुटी,जंगली पशुपंछी र अन्य वनपैदावर नष्ट भएका छन्।
म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुजसो आगलागिका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागिले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउछ।
केही दिनअघिमात्र बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भयो। सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ सुरक्षाकर्मी सहित स्थानीयवासी परिचालन गर्यो। स्थानीयवासी र सुरक्षाकर्मीले दुई दिनसम्म खटिएपनि आगो निभाउन सकेनन् । आगलागीबाट सो वनका बहुमुल्य जडीबुटी जंगल,जनावर र वन पैदावार नष्ट भएका गौश्वाराका रत्नबम मल्लले बताए।

यसैगरी पश्चिम म्याग्दीका धौलागिरी गाउँपालिका-७ धारापानी सामुदायिक वनमा आगलागी हुँदा करिव ६० हेक्टर जंगलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। भौगोलिक कठिनाई र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ।
सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरेपनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलमा आगो लगाउने गरिएको कार्यालयका निमित्त प्रमूख सन्तोष खनालले बताए । ‘यसवर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो,मानवीय लापरवाहीले आगलागी हुने गरेको छ ‘ खनालले भने। उनका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोत साधनको नष्ट गर्ने गरिएको छ ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शिर्षकमा रु.१० लाखमा विभिन्न उपकरणसहितको सामग्री व्यवस्थापन र जनशक्ति परिचालन लगायतका गतिबिधि गर्ने गरेको छ । भौगोलिक विकटता र स्रोत साधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएकाले सुरक्षा निकाएलाई समेत उपकरण सहयोग सहित नियन्त्रणमा पुग्न लाग्ने खर्च समेत कार्यलयबाटै व्यवस्थापन गर्न आगामी वर्ष थप बजेट माग गरिएको निमित्त प्रमूख खनालले बताए।
जंगलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ। डढेलोले वातावरण प्रदुषित समेत बनाएको उनको भनाई छ। जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानियावासीसाहित अन्य जनशक्ति समेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरिने बताए। वनमा जाँदा सावधानी अपनाउन समेत उनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
सामुदायिक वनमा आगलागी भएपछी वातावरण प्रदुषण बढेको छ । आगलागिबाट एकातिर वनजंगल,जंगली जनावर र जडीबुटी नष्ट भएका छन् भने आर्कातिर मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।