काठमाडौं । सत्ता गठबन्धनलाई लिएर राजनीतिक दलहरूबीच रस्साकस्सी भएको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेजको फैसला गरेपछि तत्कालिन दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।
यी दुई ठूला राजनीतिक दल ब्युँतिएपछि देशको राजनीतिक अवस्था सत्ता गठबन्धनमा आएर अड्किएको छ । देशका चार ठूला दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले सत्ता गठबन्धनलाई लिएर पटक–पटक भेटवार्ता र छलफल गर्दै आएका छन् ।
तर, नयाँ सत्ता गठबन्धनका लागि काँग्रेस र जसपा निर्णायक छन् । यी दुई पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छन्, उहीँ पार्टी सत्तामा पुग्ने निश्चित छ । यद्यपि अहिलेसम्म काँग्रेस र जसपाले सत्ता गठबन्धन वा साझेदारीका लागि कुनै पार्टीलाई साथ दिएको छैन । तर, भेटवार्ता, छलफलको क्रममा रहेको बताइएको छ ।
नेकपा बदरको फैसला पश्चात् नेपाली राजनीतिमा देखिएको विकसित घटनाक्रमलाई फन्को मार्दा, जसपाका केही शीर्षस्थ नेता एमाले र केही माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । तथापि जसपाको डा.बाबुराम भट्टराईपक्ष माओवादी केन्द्रसँग छलफलमा रहेको स्रोत बताउँछ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उनीनिकट शीर्ष नेता राजेन्द्र महतो एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँग सत्ता गठबन्धनका लागि छलफलमा छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर अस्ति (आइतबार) बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । आज बिहान जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई भेटेलगत्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उनलाई भेटेको पौडेलनिकट एक नेताले बताए ।
ती नेताले भने, –‘अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग छलफलका लागि विहानै बालुवाटारमै जानु भएको थियो । उहाँहरू दुवै जनाले छलफल गर्नु भएको छ । छलफल नयाँ सत्ता गठबन्धनकै लागि भएको हो ।’
ठाकुरपक्ष नयाँ सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा रहेको छ । उसले यसअघि चैत ९ गते बेलुकी पनि ओली र जसपाका नेताबीच छलफल भएको ती नेताले बताए् । त्यसको भोलिपल्ट बिहानै ठाकुर पक्षका नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण बालुवाटारमा पुगेरै भेटवार्ता गरेको जसपाका एक नेताले बताए ।
तर, पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता डा.बाबुराम भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रसँग आन्तरिक छलफलमा रहेको बुझिएको छ । यी नेताद्वय भने चैत १० गते प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि बालुवाटार नगएको भट्टराईनिकट एक नेताले बताए ।
अध्यक्ष ठाकुरले भट्टराई र यादवसँग कुनै छलफल र संवाद नगरी सत्ता साझेदारीका लागि ओलीसँग भेट्न पुगेको बुझिएको छ । संसद विघटन भए यता भट्टराईले ओलीमाथि चर्को आलोचना गर्दै आएका छन् ।
जसपाभित्रको पछिलल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई माओवादी केन्द्रसँग गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुर एमालेसँग नियमित भेटवार्ताकै क्रममा छन् ।
पार्टीका वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच नयाँ सत्ता गठबन्धनका लागि कुनै संवाद, छलफल नभएको बुझिएको छ । संवाद र छलफलबिना नै एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि भेटवार्ता गरेको भन्दै पार्र्टीभित्र विवाद उत्पन्न भएको जसपाका एक नेता बताउँछन् ।
ती नेताका अनुसार –‘भट्टराई र ठाकुर प्रधानमन्त्री बन्ने दाउका कारण पार्टीभित्र विवाद उत्पन्न भएको छ । यो विवादले पार्टीलाई कुनै राम्रो प्रभाव पार्दैन । यसका लागि उहाँहरू दुवै जनाले भेटघाट र छलफलको माध्यमबाट यो विवाद अन्त्य गर्नुपर्छ । नत्र पार्टी टुटफुट हुने सम्भावना देखिन्छ । प्रधानमन्त्रीको पदको लोलुपतामा लाग्नुभन्दा पनि उहाँहरू पार्टी टुटफुट हुनबाट रोकनु पर्छ ।‘
भट्टराई र ठाकुर प्रधानमन्त्रीको दाउमा लाग्नुको कारण काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लैले सरकार बनाउन सक्ने सम्भावना छैन । यसका लागि जसपाले यी पार्टीमध्ये एक पार्टीलाई समर्थन गरेमा सत्ता गठबन्धन हुने पक्का छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपासँग साझेदारी नगरी ओलीको सत्ता कुनै हालतमा टिक्ने छैन ।
उनलाई सत्ता टिकाउन वा प्रधानमन्त्री पदमा रहिरहन जसपाको साथ चाहिन्छ । तथापि माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई हरहालतमा पनि हटाउन चहान्छ । त्यसका लागि उसले पनि जसपाको साथ खोजिरहेको छ ।
तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन । तथापि पूर्वराजपा ओलीसँगै निरन्तर छलफल र भेटवार्तामा तल्लीन छन् । तर, अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने तयारीमा छन् । उनले केही दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्तासमेत गरेका थिए । त्यस्तै आइतबार एकाबिहानै भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए । ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका छन् । तर, पार्टी भित्रका वरिष्ठ नेता डा.बाबुराम भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।
काँग्रेस र जसपा भित्रको दुई पक्षबीचको र विवादका कारण प्रधानमन्त्री ओली नेतृत्वको सरकार केही महिना लम्बिने सम्भावना नजिक छ । तर, जसपा फुटेरै भएपनि ओलीलाई समर्थन गर्ने पक्षमा उभिएको छ । प्रतिपक्षी दल जसपामा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद भैरहेकै बेला अध्यक्ष ठाकुरपक्ष प्रधानमन्त्री ओलीसँग सहमतिका लागि नियमित भेटवार्ता गर्दै आएका छन् ।
ओली नेतृत्वको सरकारमा जानका लागि जसपाभित्रको राजपा पक्षले यसअघि आफ्ना माग पूरा गरेमा सत्ता साझेदारी हुने बताएको थियो । उनीहरूको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक रहेको राजपा पक्षले बताएको छ ।
ओली आफ्ना मागप्रति सकारात्मक भएको भन्दै ठाकुर ओलीसँगै सत्ता गठबन्धन गर्ने तयारीमा छन् । यसका साथै ओलीले ठाकुरलाई फेरि प्रधानमन्त्री बन्नका लागि लोभ देखाएका छन् ।
प्रधानमन्त्रीसँग आइतबारको भेटमा ओलीले ठाकुरलाई आफू पछि सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको जसपा एक नेताले बताए । जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको दाबी गरेका छन् ।
सुमनका अनुसार –‘प्रधानमन्त्रीज्यूले ठाकुरज्यूलाई सरकारको नेतृत्व गर्न बारम्बार प्रस्ताव गर्नु भएको छ । यसपटक पनि प्रस्ताव गर्नु भएको छ र जसका लागि उहाँले पनि तत्परता देखाउनु भएको छ । प्रधानमन्त्री बन्ने लोभमा भन्दा पनि हाम्रा माग सम्बोधन गराउनका लागि तयार हुनुपर्छ । हाम्रा मागप्रति प्रधानमन्त्रीज्यू सकारात्मक हुनु भएको छ ।’
गृह मन्त्रालयले जसपाको माग सम्बोधनका लागि पहल थालेको छ । जसका लागि गृहमन्त्रालयले फाराम भर्न लगाएको छ । फाराममा कुन मुद्दा कहिले दर्ता गरिएको हो ? कहाँ दर्ता गरिएको हो ? हाल मुद्दाको स्थिति कस्तो छ ? भनी बिस्तृत जानकारी खुलाउन भनेको छ ।
मधेस आन्दोलनको क्रममा सरकारले २८२ व्यक्तिलाई मुद्दा लगाएको छ । ती कार्यकर्ताहरूमाथि लगाएका मुद्दासमेत फिर्ता लिने प्रक्रिया अघि बढाइएको जसपाले बताएको छ । ८६ थान मुद्दामा २८२ व्यक्तिलाई प्रतिवादी बनाइएको जसपाका नेताहरू बताउँछन् । जसपाका अनुसार मधेस आन्दोलनको क्रममा करिब ५० जना व्यक्ति जेलम छन् ।
ठाकुर एक्लै अस्ति (आइतबार) साँझ ओलीलाई भेट्न बालुबाटार पुगेका थिए । त्यसदिन बिहान ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको भेट भएको थियो । ठाकुरलाई भेट्न पौडेल ठाकुर निवास पुगेका थिए ।
अबको नयाँ सत्ता गठबन्धन एमाले र जसपाको हुने भएकाले यसपछि सरकारको नेतृत्व तपाईंले गर्नुपर्छ भन्दै ओलीले ठाकुरलाई प्रधानमन्त्री पदको लोभ देखाएका छन् । योबीचमा उनले ओलीसँग पटक–पटक संयुक्त र एक्ला–एक्लै भेटवार्ता गर्दै आएका छन् । तर, जसपाका अर्कोपक्ष भने ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैन ।