काठमाडौं । लोक सेवा आयोगले आगामी बुधबार प्राविधिकतर्फको खरिदार तहको विज्ञापन गर्ने भएको छ ।
गत चैत ११ गतेबाट पदाधिकारीविहीन भएको लोक सेवा आयोगले खरिदारको विज्ञापन आह्वान गर्ने भएको हो । आयोगले विज्ञापन गरे पनि परीक्षा भने तत्काल नहुने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।
आयोगले वार्षिक कार्यतालिकाअनुसार आगामी २५ गते प्राविधिक खरिदार तर्फका दुई तहमा दरखास्त आह्वान गर्ने भएको हो ।
राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तहको विज्ञापन आह्वानको लागि आवश्यक तयारी भइसकेको सुवेदीले जानकारी दिए ।
आयोग पदाधिकारीविहीन भएकाले विज्ञापन आह्वान गरिए पनि परीक्षा लगायत अन्य काम तत्काल नहुने उनको भनाइ छ ।
आयोगमा पदाधिकारी नियुक्त नहुन्जेलसम्म विज्ञापन आह्वान भएका यी पदको लिखित परीक्षा, अन्तर्वार्ता लगायत अन्य सबै काम ठप्प हुने उनले बताए ।