काठमाडौँ। कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइताबार बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी बनेका तीन जना मन्त्रीलाई सोमवार सम्म राजिनामा गराउने निर्णय गरेको हो ।
एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा सहज वातावरण बनाउने निर्देशन दिएको छ ।
नयाँ निर्णयअनुसार तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
यसअघि गत चैत ४ गते पनि कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको थियो । यसअघिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु उपस्थित रहेका थिएनन् ।