• श्रावण ३१ २०८३, आईतवार

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको ‘संशोधन मण्डल’ अवलोकन

चैत्र २१ २०७७, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् ।

आज वडा नं १५ डल्लु आवासस्थित ‘संशोधन मण्डल’ रहेको इतिहासकार पन्तको निवासमा राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रका यस्ता बहुमूल्य निधिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने खाँचो औँल्याउदै ‘राष्ट्रको गौरवपूर्ण इतिहासलाई ओझेलमा पर्न दिनु नहुने बताइन् । 

उनले भनिन्, ‘राष्ट्रको गौरवपूर्ण इतिहासलाई ओझेलमा पर्न नदिन र यसबारे भावी सन्ततिलाई जानकारी दिन संशोधन मण्डलजस्ता अन्वेषण र अनुसन्धानमा समर्पित संस्थाहरुको संस्थागत विकास हुनुपर्दछ ।’

इतिहासकार पन्तले आर्थिक स्रोत, जनशक्ति र पुस्तक सङ्ग्रह गर्ने ठाउँ पर्याप्त नभएकाले संशोधन–मण्डलका लागि तीनै कुराको विस्तार भइदिए राम्रो हुने विचार व्यक्त गरे ।

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले प्राचीन ग्रन्थ एवं कृतिको रक्षा गर्दै संस्कृतिलाई जीवन्त राख्ने दायित्व सरकारको भएको बताउँदै संशोधन मण्डललाई कस्तो किसिमको सहयोग चाहिएको हो त्यसबारे एक ठोस कार्ययोजनासहितको प्रस्ताव दिन आग्रह गरे ।

नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु सुरक्षित रुपमा सङ्ग्रह गरी राखिएका छन् ।

नेपालको इतिहासबारे लेखिएका अनुसन्धानात्मक कृतिहरुमा भएका गल्तीहरूको खण्डन र शुद्धीकरण गर्ने काम संशोधन मण्डलले २००९ सालदेखि गर्दैआएको छ ।