• मंसिर १३ २०८१, बिहीबार

एकताको पक्षमा फर्किन ओलीलाई आग्रह गर्दै नेपाल समूहको दुई महिने अभियान घोषणा

चैत्र २१ २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ ।

कलंकीको एक पार्टी प्यालेसमा शुक्रबार र शनिबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

नेता योगेश भट्टराईले बैठकपछि पत्रकारसँग कुरा गर्दै विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सञ्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताए । यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।

माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।

यो अभियान पार्टी एकताको रक्षाका लागि भएको उनले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।’

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।