• बैशाख १८ २०८३, शुक्रबार

नवनियुक्त प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित 

चैत्र २० २०७७, शुक्रबार

काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।  

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सोही प्रतियोगिताद्वारा नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गरे ।

२०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका थिए  । जसमा १४ जना महिला थिए । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उनिहरु  प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न स्वागत गरे । संगठनको साखलाई अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउन नवनियुक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आग्रह गरे  ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।