बुटवल । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको विभिन्न १८ वटा स्थानमा डढेलो लागिरहेको छ । प्रदेशभर १५ हजार हेक्टर वनमा डढेलो लागेको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको तथ्याङ्क अनुसार हालसम्म प्रदेशको १५ हजार ३ सय ४९ हेक्टर वनमा डढेलो लागेको छ ।
मन्त्रालयका वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले लामो समयदेखि पानी नपरेका कारण सुख्खापन बढ्दै गएकाले डढेलो लागेको बताए । ‘अघिल्लो बर्ष पानी परिरहेको थियो, तर यसपटक त्यसो भएन,’ उनले भने–‘वन निकै सुख्खा हुँदै गएकाले डढेलो अनियन्त्रित बनेका छन् ।’
मंगलबारसम्म मन्त्रालयले प्रदेशका १४ वटा वन डिभिजन कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार अहिले प्रदेशका १२ वटै जिल्लाका विभिन्न १८ वटा स्थानमा डढेलो लागिरहेको छ ।
‘कहिलेसम्म नियन्त्रणमा ल्याउन सकिन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन, पानी पर्यो भने आफैं निभ्छ,’ महाशाखा प्रमुख पौडेलले पानी नपर्दासम्म डढेलो अनियन्त्रित नै रहने जनाए । प्रदेश सरकारसँग डढेलो रोक्नका लागि यसअघि गरिएको पूर्वतयारी बाहेक अरु थप योजना नै छैन । यसअघि जिल्लाका वन डिभिजन कार्यालयलाई दिएका अग्नि नियन्त्रक यन्त्र तथा स्थानीय स्तरमा गठन गरिएका अग्नि नियन्त्रण सञ्जालले यती धेरै क्षेत्रफलमा लागेको डढेलो निभाउन सहज नभएकाे मन्त्रालयको भनाई छ ।
तथ्याङ्क अनुसार सबैभन्दा ठूलो क्षेत्रमा डढेलो लागेको जिल्ला अर्घाखाँची हो । जिल्लामा अहिले नौ हजार ६ सय ७० हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको छ । त्यसपछि रुपन्देहीमा दुई हजार ४५, नवलपरासीमा एक हजार ९४, अर्घाखाँचीमा ९६७, पाल्पामा ६ सय २९ कपिलवस्तुमा पाँच सय ९७, दाङमा चार सय ५३, प्युठानमा तीन सय ९६, बर्दियामा एक सय ६०, रोल्पामा एक सय ५०, गुल्मीमा एक सय २५, रुकुममा २० र बाँकेमा एक सय ६० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।