काठमाडौँ । एटिएम ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक वाङ सिआओलङ पक्राउ परेका हुन् ।
मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए । उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।
‘विभिन्न बैंकहरूको एटिएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘यस क्रममा एक जना चिनियाँ पक्राउ गरिएको हो।’
विगत केही वर्षयता चिनियाँ नागरिक एटिएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो।
सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे । उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो।
त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको एसएसपी सिंहले बताए।
उनको साथमा १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ ।