• मंसिर १२ २०८१, बुधबार

राष्ट्र बैंकले जारी गर्यो ग्राहक हित संरक्षण सम्बन्धी निर्देशन

चैत्र १८ २०७७, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई ग्राहक हित संरक्षण सम्बन्धी निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले भुक्तानी तथा फर्छौट ऐन २०७५ मा रहेको ग्राहक हित संरक्षण सम्बन्धी प्रावधानलाई टेकेर भुक्तानी सेवा प्रदायकलाई निर्देशन जारी गरेको हो ।

सेवा प्रदायकले कारोबारको समयमा प्रयोगकर्ताको व्यक्तिगत विवरण लिँदा सोको जानकारी गराउन र प्रयोगकर्तालाई सुरक्षित कारोबार सम्बन्धी सचेतना गराउन निर्देशन दिएको छ । सेवा प्रदायकले स्पष्ट र सरल भाषामा आफ्नो सेवा शुल्क, सर्त तथा कारोबार सञ्चालन प्रकृतिको सम्बन्धमा प्रयोगकर्तालाई आवश्यक सबै जानकारी उपलब्ध गराउन समेत भनेको छ ।

त्यस्तै, सेवा प्रदायकको असावधानी एवं लापरवाहीले प्रयोगकर्तालाई क्षति हुन गए उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । सेवाग्राहीलाई पर्ने असुविधा तथा विद्युतीय भुक्तानीका क्रममा आउन सक्ने कठिनाइलाई सम्बोधन गर्न सेवा प्रदायकहरुलाई सूचना तथा गुनासो सुनुवाई डेस्क बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकले डेस्कमा प्राप्त हुने गुनासो सहित त्यसको समाधान गरिने कामकारवाही पनि अभिलेखीकरण गर्न भनेको छ । सेवाग्राहीलाई सहज हुने गरी सबै भुक्तानी सेवा प्रदायकले टोल फ्री नम्बर उपलब्ध गराउन पनि पत्राचार गरेको छ । त्यसैगरी, सेवा प्रदायकले सेवाग्राहीसँग गरिएको विद्युतीय कारोबारको सूचना एवं विवरणको गोपनीयता कायम गर्दै अख्तियार प्राप्त निकाय वा संस्थालाई त्यस्ता सूचनाहरु दिन कुनै बाधा नपर्ने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।