मानिस मात्रै होइन हरेक प्राणीले पृथ्वीमा आफ्नो अस्तित्व राखिरहन आफ्नो सन्तानलाई जन्मदिने कृया गरिरहेको हुन्छ । जैविक रुपमा मानिस मात्रै नभएर हरेक प्राणी उसको आफ्नो पुर्खाको अवशेषको रुपमा मात्रै होइन उत्तराधिकारीको रुपमा समेत प्रकृतिमा रहिरहने कुराको लागि हरेक प्राणीले आफ्नो प्रजनन कृयाद्वारा बच्चाहरु उत्पादन गर्ने काम गरेको हुन्छ । जीवनका हरेक चरण पारगर्दै अन्तिममा मानिस पनि प्रकृतिमै बिलिन हुन पुग्छ ।
भनिन्छ, जन्मपछिको बालक कालमा मानिसले जस्तो व्यवहार पाउँछ उसले युवा र प्रौढ अवस्थामा पनि त्यही व्यवहार लागु गर्छ । बालक कालमै पाएको आफ्नो संस्कार उसले आफ्ना सन्तानलाई समेत सिकाउन पुग्छ । अर्कोतर्फ भनिन्छ, बालबालिका भविष्यका कर्णधार पनि हुन् । हो तिनै भविष्यका कर्णधारको बारेमा के तपाईंले कहिल्यै गम्भिरतापूर्वक सोच्नु भएको छ ? वा तपाईं आफना वा समुदायका अझ भनौं देशका बालबालिकाको बारेमा कति गम्भीर हुनुहुन्छ ? हामीले भविष्यका कर्णधारलाई सही बाटो सिकाउन सकेनौं भने अवस्था के होला ? जुन देशमा बालबालिकाको अवस्था राम्रो हुन्छ अवश्य पनि भविष्यमा त्यो देश अगाडी बढ्छ । हाम्रो देश बालबालिकाको अवस्था राम्रो नभएर पो अगाडी जान नसकेको हो कि । आउनुहोस् नेपालमा बालाबालिकाको अवस्था कस्तो रहेको छ एक छलफल गरौं ।
बालबालिकाको अबस्था के छ नेपालमा ?
बालबालिकाको पहिलो अधिकार भनेको उनिहरु आफ्ना आमाबुवा वा परिवारसँग सँगै बसेर आफ्नो भविष्य सुरक्षित गर्नु नै हो । नेपालमा जनसंख्याको ४० प्रतिशत ओगट्ने बालबालिकाको संख्या रहेको छ भने विभिन्न कारणले बालबालिकाहरुले परिवारबाट टाढा रहनुपरेको विभिन्न अध्ययन र विश्लेषणहरुले बताएका छन् । राष्ट्रिय बालअधिकार परिषद प्रतिवेदन २०७६ का अनुसार नेपालमा बालगृहको संख्या जम्मा ५३३ रहेको थियो भने ती बालगृहहरुमा जम्मा १५,५६५ जना बालाबिलाकहरु आश्रित रहेका थिए ।
सो वर्ष ५ वटा संस्थागत स्याहारबाट १९२ जना बालबालिकाहरुलाई उद्धारगरी १८६ जना बालबालिकाहरुलाई परिवारमा पुर्नमिलन गराइएको थियो भने ६ जना बालबालिकाहरुलाई परिवार नभेटेकोले आवधिक बालगृहमा पठाइएको थियो । त्यस्तै राष्ट्रिय बालअधिकार परिषद प्रतिवेदन २०७७ का अनुसार नेपालमा बालगृहको संख्या ४८९ रहेको छ भने ११,३५० जना बालबालिका विभिन्न बालगृहहरुमा रहेका छन् । कोरोना भाइरस संक्रमणको अवधीमा २०५७ जना बालबालिकाहरुलाई घर पठाइयो भने बालगृहबाट ३४३ जना बालबालिकाहरुलाई परिवारमा पुर्नमिलन गराइएको छ । उता बालबालिकाको क्षेत्रमा काम गरिरहेको हिमाली नविन समाजले बताए अनुसार सो समाजले ६ वटा बालगृहबाट ५५ जना बालबालिकाहरुलाई परिवारमा पुर्नमिलन गराएको साथै ३ जनालाई अस्थायी संरक्षणमा राख्ने व्यवस्था गरिएको छ ।
बालबालिका परिवारबाट बिछोड हुनुका कारण:
हिमाली नविन समाजले गरेको एक अध्ययन अनुसार बालबालिका विभिन्न कारणले परिवारबाट बिछोडिने गरेका छन् ।
शिक्षाको कारणः
बालबालिका परिवारबाट बिछोडिएर बालगृहमा पुग्नुमा पहिलो कारण शिक्षा रहेको छ । सबै मानिस उपयुक्त तथा राम्रो शिक्षाको खोजिमा हुन्छ । त्यसकारण दुर्गम स्थानमा मानिसहरु आमाबाबुको सहमतिमै राम्रो शिक्षाको खोजिमा शहर पुग्दा बालगृहसम्म पुग्ने गरेको तथ्य खुलेको छ । शिक्षाको लागि परिवार बिछोडिएर बालगृहमा पुग्ने बालबालिकाको संख्या ४२.२५ रहेको बताइन्छ ।
परिवार बिखण्डन भएरः
आमा वा बुवाले दोस्रो विहे गर्दा पहिलोपट्टिका बालबालिका हेलाँमा पर्दा बालबालिका बालगृहसम्म पुग्ने गरेका छन् । आमा बाबुको पारपाचुके भइ बालबालिकाको कसैले जिम्मा नलिँदा बालबालिका बालगृहसम्म पुग्ने गरेका छन् । यसरी परिवार बिखण्डन भएर बालगृहमा पुग्ने बालबालिकाको संख्या २७.७५ रहेको छ ।
अभिभावकको मृत्यु भएमाः
अभिभावकको मृयु हुँदा बालबालिका टुहुरा हुन पुग्छन् । यसरी सहाराबिहीन बालबालिका पनि बालगृहमा पुग्ने गरेका छन् । यसरी बालगृहमा पुग्ने बालबालिकाको संख्या १६.९५ रहेको छ ।
गरिबीको कारणः
नेपाल गरिबीको चपेटामा रहेको देशमध्ये एक हो । गरिबीले गर्दा कयौं अभिभावकलाई आफ्ना बालबच्चा पालन पोषणमै समस्या हुन जान्छ त्यसकारण यो गरिबीको कारणले गर्दा समेत बालबालिका बालगृहमा पुग्ने गर्दा रहेछन् । यसरी गरिबीको कारणले बालगृहमा पुग्ने बालबालिकाको संख्या १०.८५ रहेको छ ।
बालबालिकालाई सुधार्नको लागिः
नेपालमा कयौं अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई आफैले उनीहरुको आनिबानि बिगारेका हुँदैनन् । तर बालबालिकाहरुलाई अत्यधिक माया दिने तर उनीहरुलाई आफ्नो कर्तव्य नसिकाउँदा कालान्तरमा बालबालिका बिग्रन पुग्छन र स्वयम् अमाबुवालाई नै नटेर्ने बन्न पुग्छन् । आफूलाई नटेर्ने भएपछि आफ्ना बालबालिका बिग्रिएको महशुस गरेर सुधार्नको लागि भनेर समेत कयौं अभिभावकले बालबालिकाहरुलाई बालगृहमा पुर्याउने गरेको तथ्य समेत सार्वजनिक भएको छ । यसरी बालबालिकालाई सुधार्नको लागि बालगृहमा पुर्याउनेको संख्या १.२ प्रतिशत रहेको छ ।
बालबालिकालाई बालगृहमा राख्नु के राम्रो हो त ?
माथि पनि भनियो कि, बालबालिकाको पहिलो अधिकार उनीहरुको अभिभावकहरुसँग बसेर हाँस्न खेल्न पाउनु साथै शिक्षादिक्षा पाउनु नै हो । यदी बालबालिकाको परिवारमा कुनै समस्या आएमा बालगृहमा पठाउनु भन्दा वैकल्पिक हेरचाह गर्नपर्ने धारणा हिमाली नविन समाजकि सूचना अधिकृत तोयाहोमा राई व्यक्त गर्छिन् । आफ्नै परिवारमा कारणवस हुर्कन बाधा रहेको खण्डमा बालबालिकाको उच्चतम हितलाई ध्यानमा राखी परिवारमा र समुदायमा आधारित अस्थायी वा स्थायी औपचारिक वा अनौपचारिक हेरचाहको निमित्त गरिने व्यवस्थालाई वैकल्पिक हेरचाह भनिन्छ ।
यस्तो वैकल्पिक हेरचाह बालबालिकालाई बालगृह पठाउनु भन्दा आफ्नै परिवार भन्दा बाहिर नातागोता वा समुदायले गर्न सकिन्छ भन्छन् सो समाजका कार्यकारी धनबहादुर लामा भन्छन् । बालबालिकाको मानसिक विकासमा जति आफ्नो परिवारमा र समुदायमा रहेर सहयोग पुग्छ त्यति सहयोग परिवार वा समुदायबाट बिछोडिएर जाँदा नहुने विभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाउँछन् ।
राईका अनुसार ६० वर्षभन्दा बढी समयमा विभिन्न अन्तरराष्ट्रिय संस्थाहरुले गरेका अनुसन्धानका अनुसार एउटा बालक वा बालिका हरेक ३ महिना संस्थागत स्याहार (बालगृह) मा हुर्कंदा उसको १ महिना बराबरको सर्वाङ्गिण विकासमा ह्रास हुन आउँछ । अर्को एक अध्ययन अनुसार यसरी बालबालिकाहरुलाई संस्थागत (बालगृह) स्याहारमा राख्दा एट्याचमेण्ट डिसअर्डर, अटेन्सन डिफिसेंसी हाइपरएक्टिभिटि र पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर जस्ता समस्याहरु आउन सक्छन् । यति थाहा भैसकेपछि अब अझै बालबालिकालाई बालगृहहरुमै पठाई रहने कि परिवार, नातागोता र समुदायले नै केही गर्ने ?