काठमाडौं । पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्यमा रोक लगाएको छ ।
विभागद्वारा सोमबार जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य रोकेको हो ।
विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केही दिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो । पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले पाएका थिए ।
विश्वविख्यात आरोहीको चिरस्मरण हुने गरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले शुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । ‘कीर्तिमानी आरोहीको सम्मान तथा आरोहणलाई व्यवस्थित गर्नेगरी इजाजतपत्र दिन खोजिएको हो । कतिपय आरोहीले हामीलाई मात्र हुनुपर्छ भनेर माग गर्नुभएको छ, अब अदालतको आदेशानुरुप अघि बढ्नुपर्ने हुन्छ’, उनको भनाइ छ ।
विभागबाट हालसम्म ११० भन्दा बढीले इजाजतपत्र लिएका छन् । विभागले निश्चित मापदण्ड बनाएर नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सिफारिस गरेको आधारमा यस्तो इजाजत दिन्छ । करिब एक हजार ५०० ले इजाजत लिने विभागको अनुमान छ ।
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० (चौथो संशोधन, २०७७) को दफा ५७(क) बमोजिम विभागले उक्त परिचयपत्र वितरण गरिँदै आएको थियो ।