• मंसिर १३ २०८१, बिहीबार

बागलुङ घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न कांग्रेसको माग

चैत्र १६ २०७७, सोमबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले होली खेल्ने क्रममा बागलुङमा भएको झडपमा आफ्ना २ कार्यकर्ताको मृत्यु भएपछि दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ। होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

घटनामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो। कुँवर कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन्।

‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ। प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’

घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको कांग्रेसले जनाएको छ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारवाही गर्न कांग्रेसको माग छ।