• मंसिर १२ २०८१, बुधबार

काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप

चैत्र १६ २०७७, सोमबार

काठमाडौँ। चीन सरकारले सहायतास्वरुप प्रदान गरेको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । कोभिड–१९ विरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज खोपलगायत सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको हो ।

सहायता सामग्री लिन उक्त विमान आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको थियो । चीनले उपलब्ध गराएको उक्त खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आठ लाख मात्रा खोपलगायत अन्य सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको थियो ।