• मंसिर १२ २०८१, बुधबार

फोहोर हावा र डढेलोका कारण वायु प्रदूषण झन कडा बन्दै

चैत्र १६ २०७७, सोमबार

डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन । वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ ।

यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।

काठमाडौँ, सौराहा, पोखरा, कीर्तिपुर, सिमरा, झापालगायतका सहरको वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था हो । यी बाहेक जुम्ला, रारा, धनकुटा लगायतका क्षेत्रमा विगत २४ घण्टामा उच्च स्तरमा प्रदूषणको सूचक बढेको थियो ।

विभागले आइतबार औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न भाग जस्तै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेको जनाएको छ । वायु प्रदूषणको स्तर घटी वा बढी हुन मौसमले असर गर्ने जनाउँदै विभागले हालको जस्तै अवस्था रहेको खण्डमा वायु प्रदूषण यत्तिकै वा योभन्दा पनि खराब हुन सक्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक यन्दुविक्रम जोशीले लगातार बढेको प्रदूषणबाट जोगिन अपिल गरे ।

उनका अनुसार वायु प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उच्च सम्भावना छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।
साथै अन्य आम नागरिकले पनि काम परेको खण्डमा बाहेक घरबाहिर हिँड्डुल नगर्न, निस्कन र परेको खण्डमा सावधानी अपनाउन अनुरोध गरिएको छ । अहिले चारैतिर डढेलो सङ्कट बढेकाले यस्तो बेलामा सहरका स्थानीयले फोहोर बाल्ने, खुला रूपमा आगो बाल्ने जस्ता काम नगरिदिन विभागले आग्रह गरेको छ ।

त्यस्तै प्रदूषणलाई बढावा दिने खालका धुवाँयुक्त सवारी साधन नचलाएर विद्युतीय सवारी साधन मात्र चलाउन विभागले अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदूषणको दर बढ्दो रहेकाले भिजिबिलिटीको स्तर घटेको जनाएको छ । वर्षा र हावाको उच्च चाप वायुमण्डलमा नआएसम्म प्रदूषणको स्तरमा कमी आउन नसक्ने महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।