• बैशाख १८ २०८३, शुक्रबार

उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडा निगरानी 

चैत्र १५ २०७७, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन र दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो ।

महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।

महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको जनाएको छ । यस्तै बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा आज दिनभरमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ । एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री शितला सिंहको केएमसि र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।