काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा भइरहेको सैनिक दमन अत्यन्तै अमानवीय र निन्दनीय भन्दै निन्दा गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय म्यानमारमा भइरहेको सैनिक दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको बताएका हुन् ।
जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको जारी विज्ञप्तिमा भनिएको छ ।
सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले बताएका छन् ।