विराटनगर । प्रदेश १ का तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
यही चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।
उनले केही महिनाअघि धनकुटाको डाँडा बजार र लेकुवामा ३०० जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको जानकारी दिँदै यसपटक यो औषधि खुवाइसकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउनु नपर्ने बताए ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान–२०७७ को विषयमा आज प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी उपरीक्षक सन्तोकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता, राजनीतिक दलकमा प्रतिनिधिसँगको छलफलमा हात्तीपाइलेविरुद्धको अभियानलाई सफल बनाउन सबैले आ–आफ्ना तहबाट सहयोग गर्नु पर्ने निर्णय भएको छ ।