• मंसिर १३ २०८१, बिहीबार

संसदीय दलको बैठकमा झलनाथको यस्तो प्रस्ताव 

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकृत बनाएर अघि बढ्न २०७५ जेठ २ को अवस्थामा फर्कन सक्नुपर्ने बताउनुभएको छ ।

बालुवाटारमा शुक्रबार भएको संसदीय दलको बैठकमा नेता खनालले पार्टी एकीकृत बनाएर अघि बढ्न २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने बताउनुभएको हो ।

सर्वोच्च अदालतले २०७५ जेठ २ गतेको अवस्थामा फर्काएकोले आफूहरुले यसको यथार्थलाई बुझेर पार्टीलाई अघि बढाउनुपर्ने कुरा बैठकमा राखेको खनालले जनतासमाचारलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीलाई एकीकृत बनाएर अघि बढ्न अब हामी २०७५ जेठ २ गतेको अवस्थामा फर्कन सक्नुपर्छ ।

हामीलाई अदालतले त्यहि अवस्थामा फर्काएको छ । हामीले यो यथार्थलाई बुझ्नु पर्छ । त्यो वास्तविकतालाई स्वीकार गर्नुपर्छ ।’

‘गत पुष ५ गते प्रधानमन्त्रीको कदमले संसद विघटन भयो । त्यसपछि संसदको मृत्यु भयो । संसदीय दलको पनि मृत्यु भयो । तर दुई महिनाको लामो संघर्षपछि फेरि सर्वोच्च अदालतले संसदको पनुस्थापना गर्यो । यसरी संसद र संसदीय दल पनि ब्यूँतियो’ खनालले भन्नुभयो, ‘तीन वर्षअघि हामीले पार्टी एकीकरण गर्यौँ । एकीकरणको तीन वर्षसम्म नेपाल कम्युनिष्ट पार्टी क्रियाशिल रहयो । त्यस अवधिमा धेरै महत्वपूर्ण निर्णयहरु पनि भए । विभिन्न तहका निर्वाचन पनि सम्पन्न भए । त्यस निर्वाचनका परिणाम अहिले पनि हामीसँग छ । तर सर्वोच्च अदालतको अर्को फैसलाले एकीकृत पार्टी विघटन भएको छ । एकता भंग भएको छ । र हामी पूर्व एमाले र पूर्व माओवादी (केन्द्र) ब्यूँतिएका छौँ । अब हामी एकीकृत भएर अघि बढ्न यो वास्तविकतालाई स्वीकार गर्नुपर्छ ।’

खनालले ओलीले यस बीचमा गरेको पार्टी विधान र नीति विपरीतका निर्णयहरु स्थगित गर्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीलाई अघि बढाउने माध्यम भनेको नवौँ राष्टिय महाधिवेशनको नीति र सिद्धान्त हो । पार्टी विधान र नीति अनुसार चलेर मात्र हामी अघि बढ्न सक्छौँ । यसबीचमा पार्टी विधान र नीति विपरीत गरिएका निर्णयहरु स्थगित गरिनुपर्छ ।’

खनालले संसदीय दलको बैठक संसदीय दलकै कार्यालयमा बोलाउनु पर्ने भएपनि प्रधानमन्त्री तथा दलको नेताले नै बालुवाटारमा बोलाए पछि बैठकमा गएको जानकारी दिनुभयो ।